२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

दलित र गैरदलित समुदायबीच समताभोज कार्यक्रम 

आइतवार , चैत्र १, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • बुटवल, १ चैत । दलित र गैरदलित समुदायबीच समाजमा विद्यमान विभेद र छुवाछुत अन्त्य गर्ने तथा आपसी सद्भाव र भाइचारा बढाउने उद्देश्यले आइतबार बुटवलमा समताभोज कार्यक्रमको आयोजना गरियो । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशनको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजको संयोजन र दैनिकपत्र लगायतका मिडियाहरुको सहकार्यमा सो समताभोज कार्यक्रम सम्पन्न भएको हो ।

    बुटवलस्थित हिलपार्कमा आयोजित समताभोजमा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनाल, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, नेपाली कांग्रेसका नेताहरु हरिबहादुर आचार्य, खेलराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद बञ्जाडे, राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष विनोद पहाडी लगायत बुद्धिजिवी, समाजसेवी, राजनीतिकर्मी, पत्रकार,  अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो।

    सो अवसरमा मन्त्री गिरीले छुवाछुत लगायतका भेदभाव र लान्छनाबाट समाजलाई मुक्त गर्न सबैको साझा प्रयास हुनुपर्ने धारणा व्यक्त गरे । मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले मानिसको व्यवहार र सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । 

    डा. बालकृष्ण चापागाईंले धर्म, शास्त्र, बेद, पुराणमा कहीकतै जातीय छुवाछुत र भेदभाव नरहेको उल्लेख गर्दै शासक र शासितबीचको सम्बन्धले विकृत रुप लिँदै जाँदा विभेदको अवस्था सिर्जना भएको टिप्पणी गरेका थिए । 

    कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य हरिबहादुर आचार्य, रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुली, शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, रुपन्देही शाखाका सभापति डिपी खनाल, पूर्व सभापति लालहरी पाण्डे लगायतले समाजमा विद्यमान छुवाछुतको अवस्था र यसको अन्त्यबारे समुदायले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए ।