२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारले अध्यादेश होइन, संसदबाट विधेयक ल्याउनुपर्छ : एनपी साउद

आइतवार , पौष २८, २०८१

बुटवल, २८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको दुईतिहाई बहुमतको सरकारले अध्ययादेशमार्फत कानून बनाउनु सकारात्मक पक्ष नभएको जिकिर गरेका छन् ।

बहुमत हुँदा पनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानून बनाउँदा चौतर्फी प्रश्न उठेको बताउँदै उनले अनिवार्य संसद सञ्चालन गरी विधेयकमार्फत आउनुपर्ने बताए । रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायीत्व दिन नसक्ने दावी गरे । उनले अध्यादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भए पनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे ।

पूर्वमन्त्री समेत रहेका साउदले भने, ‘संसदलाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐनहरु निर्माण बनाइरहेको छ, यसको विषयमा चौतर्फी विरोध भइरहेका छन् । यसले राम्रो सन्देश गइरहेको छैन् । ’उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे । उनले दुई दलबीचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न सुझाव दिए ।

नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्छ,’उनले भने । संविधान संशोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनल अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्ने गरी संशोधन गर्ने बेला आएको जवाफ दिए । उनले स्थिरताको तत्व संविधानमा जोडिनुपर्ने बताउँदै संविधानमा स्थायीत्वको तत्व समावेश हुन सक्दैन् भने संवैधानिक प्रबन्ध उचित नहुने तर्क गरे ।

उनले भने, ‘हरेक १० वर्षमा संविधानका कुराहरु परिवर्तन गर्नु आवश्यक छ । संविधान संशोधन परिमार्जनको कुरा सर्वस्वीकृत बनाउनुपर्छ । राज्य व्यवस्थालाई जनताको स्पष्ट पहुँच भएको संयन्त्रको रुपमा अगाडी बढाउनुपर्छ । यो अभिष्ट (उद्देश्य) नेपाली कांग्रेसको हो ।’

ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेण्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिए । ‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । ’

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामुकमार क्षेत्रीको अध्यक्षता तथा आचार्य प्रदिपको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतकमा नियुक्त जमुना ढकाललाई सम्मान समेत गरिएको थियो । ढकाललाई साउदसहितका नेताले सम्मान गरेका थिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरु डा. डिला शंग्रौला, अब्दुल सतार, चम्पा खड्का, गंगा शाही, कांग्रेस लुम्बिनी प्रदेशका निवर्तमान सचेतक निर्मला क्षेत्री, रुपन्देही कोषाध्यक्ष हरि प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।