२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

इ प्लानेट नेसनल क्रिकेट च्याम्पीयनसीप लुम्बिनीको छनोट सम्पन्न

आइतवार , पौष २८, २०८१

बुटवल, २८ पुस । इ प्लानेटको आयोजनामा हुन गइरहेको राष्ट्रियस्तरको इ प्लानेट नेसनल हाई स्कूल क्रिकेट च्याम्पियनसीप अन्तर्गत लुम्बिनी प्रदेशको छनोट खेल सम्पन्न भएको छ । छनोटको फाइनल खेलमा प्यारामाउण्टले बोर्डिङ हाई स्कूलले एभरेष्ट इङलिस बोर्डिङ हाई स्कूललाई ८ विकेटले पराजित गर्दै लुम्बिनी छनोटको उपाधि जितेको हो ।

प्रतियोगितामा शान्ति नमुना, कान्ति, एभरेष्ट, प्यारामाउण्ट, न्यू होराइजन, होराइजन गौतमबुद्ध अक्सफोर्ड, सेन्ट जोसेफ गरी जम्मा ८ विद्यालय टीमको सहभागीता रहेको थियो । पुस २३ देखि २६ गतेसम्म (तीन दिन) तिलोत्तमास्थित नवजीवन क्रिकेट मैदानमा सञ्चालित प्रतियोगितामा प्यारामाउण्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

ब्याटिङमा उत्रिएको एभरेष्ट इङलिस बोर्डिङ हाई स्कूलले १० ओभरमा ९ विकेटको क्षतिमा ६२ रन बनाएको थियो । एभरेष्टका लागि रवि यादवले ११ बलमा १६ रन, र प्रणिप पाण्डेले ८ बलमा ७ रन बनाएका थिए ।
प्यारामाउण्टका बलर शिव कुँवरले २ ओभरमा १ मेडन ओभरसहित ६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सागर गैरेले २ ओभरमा २ रन खर्चेर ३ विकेट लिए ।

प्यारामाउण्टले ६३ रनको लक्ष्य ७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । खेलमा सन्देश पन्थीले २६ बलमा ४१ रन बनाए भने शिव कुँवरले ६ बलमा ८ रनको योगदान गरे । एभरेष्टका बलर आयुस जैसवाल र कृष्णचन्द चौधरीले १–१ विकेट लिए । 

प्रदेशको छनोट चरणको समापनको कार्यक्रम इ प्लानेट बुटवलका प्रबन्ध निर्देशक विशाल राज शाक्यको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यता, नेपाल क्रिकेट संघ नेपाल (क्यान) का सहायक प्रशिक्षक बसन्त शाही ठकुरी र रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो ।

लुम्बिनी छनोटको विजेता प्यारामाउण्ट बोर्डिङ हाई स्कूलले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । खेलमा प्यारामाउण्ट बोर्डिङ हाई स्कूलका शिव कुँवर प्लेयर अफ द म्याच घोषित भएका छन् । 

लुम्बिनी छनोटबाट विजयी प्यारामाउन्ट बोर्डिङ हाई स्कुलले अब राष्ट्रियस्तरको खेलमा प्रतिष्पर्धा गर्नेछ । राष्ट्रियस्तरको खेल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । जहाँ ७ प्रदेशका विजेता टीम र आयोजक टीम गरी ८ टीमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने इ प्लानेट बुटवलकी सञ्चालन प्रमुख विमला ज्ञवालीले जानकारी दिइन् ।