
सोमवार , पौष २९, २०८१
भैरहवा, २९ पुस । पत्रकार प्रतीक पौडेल लायन्स सामाजिक पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देही र लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीबीचको सहकार्यमा स्थापित उक्त पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् ।
सोमबार भैरहवामा लायन्स भैरहवा ग्रीन सिटीले एक कार्यक्रमको आयोजना गरी उनलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । पुरस्कारको राशी रु. १० हजार रहेको कार्यक्रम संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष मनोज क्षेत्रीले बताए ।
पत्रकारिताको माध्यमबाट लायन्सका गतिविधिहरु सम्प्रेषण गरी जनमानसमा पुर्याएर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पौडेललाई सम्मान गरिएको क्लबका पूर्वअध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक डेपुटी सेक्रेटरी गोविन्द प्रसाद गिरीले बताए । सन् २०२० सालमा स्थापना भएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले लुम्बिनी प्रेस क्लबसँगको सहकार्यमा सामाजिक पत्रकारिता पुरस्कार स्थापना गरेको गिरीले जानकारी दिए ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, सेकेण्ड भाईस डिष्ट्रिक गभर्नर सन्दिप कसौधन, लायन्स भैरहवा ग्रीन सिटी वर्ष २०२४/०२५ का अध्यक्ष कमल रायमाझी, क्लबका पूर्वअध्यक्ष श्री रायमाझी लगायतले पौडेललाई पुरस्कार हस्तान्तरण गरेका थिए । विगत आधा दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पौडेल समता टेलिभिजनमा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य समेत हुन् ।
यसअघि लायन्स सामाजिक पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार रबिन्द्र प्रताप गुप्ता सम्मानित भएका थिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य तथा लुम्बिनी प्रेस क्लबका सह–कोषाध्यक्ष समेत रहेका गुप्ता खबरपात्रो डटकम, गौतमबुद्ध सन्देश दैनिक, बुद्ध सामुदायिक र प्राइम टेलिभिजनमा आबद्ध छन् ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्मोत्सवको अवसरमा लायन्सले सप्ताहव्यापी कार्यक्रम गरिरहेको बताए । उनले लायन्सले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै आएको बताए । ‘लायन्सका गतिविधिबारे समाचार सम्प्रेषण गरेर सञ्चार क्षेत्रले सहयोग गर्दै आएको छ’उनले भने, ‘आगामी दिनमा पनि सञ्चार क्षेत्रबाट सहयोगको अपेक्षा राखेका छौं ।’
लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष कमल रायमाझीले लायन्सले सामाजिक कार्यहरुलाई अघि बढाउँदै आएको बताए ।
सम्मानित भएका पत्रकार पौडेलले यो सम्मानले प्रोत्साहन मिलेको भन्दै आगामी दिनमा पनि लायन्सका गतिविधिबारे कलम चलाउने बताए ।
कार्यक्रममा क्यान्सर रोगको उपचार गराइहेका लुम्बिनी प्रेस क्लबका सल्लाहकार मनोरन्जन शर्मालाई पनि आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । शर्मा कारोबार दैनिकका लुम्बिनी प्रदेश प्रमुख समेत छन् ।
कार्यक्रममा लायन्स फस्ट भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, रिजन चेयरपर्सन राकेश गुरुङ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसी, लुम्बिनी प्रेस क्लबका उपाध्यक्षद्वय दीपक घिमिरे, दीपेन्द्र बडुवाल, महासचिव प्रकाश न्यौपाने, सह-कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्तालगायतको आतिथ्यता रहेको थियो ।
लायन्स भैरहवा ग्रीन सिटीका सचिव हेमन्तराज जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij