
मंगलवार , माघ १, २०८१
भैरहवा, १ माघ । बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११, रुपन्देहीले वृद्धवृद्धालाई कम्बल वितरण गरेको छ । मंगलबार सिद्धार्थनगर नगरपालिका–४ स्थित श्रीराम जानकी हनुमान मन्दिरमा कम्बल वितरण कार्यक्रम गरिएको संस्थाका अध्यक्ष श्रीचन्द जयसवालले बताए ।
कार्यक्रममा १५० जनालाई कम्बल वितरण गरिएको कार्यक्रम संयोजक तथा सामुदायिक सेवा केन्द्रका कार्यसमिति सदस्य मनोज अग्रहरीले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले समाजलाई सुरक्षित र अपराधमुक्त बनाउन प्रहरीको जिम्मेवारी र चाहना भएको र त्यसमा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताए । ‘यो पवित्र स्थानमा माघे संक्रान्तिको दिन पवित्र कार्य भएको छ’एसपी राठौरले भने, ‘बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्रले उत्कृष्ट कार्य गर्दै आएको छ ।’
त्यस्तै बुद्ध सामुदायिक सेवा केन्द्रका प्रमुख सल्लाहकार दीपक क्षेत्री न्यौपानेले यो संस्था स्थापना भएको १८ वर्ष पुगेको बताए । उनले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । संस्थाका पूर्वअध्यक्ष तथा कानूनी सल्लाहकार दिलिप कुमार मल्लिकले संस्थाले वार्षिक क्यालेण्डर अनुसार कार्यक्रम गर्दै आएको बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले कम्बल वितरण कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले गरीब तथा असहायहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कम्बल वितरण कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार नरेन्द्र प्रसाद रौनियार, उपाध्यक्ष शुभद्रा पौडेल, सचिव केदार प्रसाद कुर्मी लगायतले बोल्दै आगामी वर्षमा पनि माघे संक्रान्तिका दिन कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij