
आइतवार , श्रावण २५, २०७७
भैरहवा, २५ साउन ।
रुपन्देही प्रशासनले जिल्लाभर बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म मात्रै पसल खोल्न तथा व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
कोरोना संक्रमण (कोभिड–१९) को जोखिमलाई मध्यनजर राख्दै जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बसेको बैठकले सोमबारदेखि अर्को निर्णय नहुँदासम्म जिल्लाभरका पसल तथा व्यवसाय बिहान ११ बजेदेखि सांझ ७ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले भारतसंग सिमाना जोडिएको बेलहिया नाका बाहेकका सबै नाकाहरुबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो । त्यसै गरी बढी भिडभाड हुने भेला सम्मेलन, भोजभतेर आदि कार्य बन्द गराउने निर्णय भएको केन्द्रका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए ।
जिल्लाका १६ वटै स्थानीय तहमा एक/एक क्वारेन्टिन व्यवस्था गर्न र हाटबजारहरु सञ्चालन नगर्न पालिकाहरुलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए ।
बैठकले बढी भिडभाड हुने सरकारी तथा गैरसरकारी कार्यालयहरु र भारतसंग सीमा जोडिएका क्षेत्रमा कोरोना संक्रमणको आशंका भएका व्यक्तिको पीसीआर परीक्षणका लागि आवश्यक सामाग्री उपलब्ध गराउन केन्द्रीय संकट व्यवस्थापन केन्द्रसंग अनुरोध गर्ने निर्णय समेत गरेको थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij