२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवा बहुमुखीमा कोडिङ ओलम्पियाड–२०८१ हुँदै

बुधवार , माघ २, २०८१

भैरहवा, २ माघ । भैरहवा बहुमुखी क्याम्पस इन्फरर्मेसन टेक्नोलोजी क्लब (बी.एम.सी.आई.टी. क्लब) को आयोजनामा कोडिङ ओलम्पियाड–२०८१ हुने भएको छ । २०८१ माघ ३ र ४ गते सिद्धार्थनगर नगरपालिका–१२ स्थित भैरहवा बहुमुखी क्याम्पसमा उक्त प्रतियोगिता हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । 

रुपन्देही जिल्लाभित्रका सम्पूर्ण आईटी तथा कम्प्युटर विज्ञान अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको बी.एम.सी. आई.टी. क्लबका अध्यक्ष शिशिर गैरेले बताए । 

‘विद्यालय तथा क्याम्पसस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट विद्यार्थीहरुलाई सूचना तथा प्रविधिका क्षेत्रमा सीप विकास तथा सुदृढ भविष्यका निम्ति मार्गदर्शन गराउने प्रतियोगिताको उद्देश्य छ’अध्यक्ष गैरेले भने,  ‘कोडिङ ओलम्पियाड–२०८१ प्रतियोगिता अन्तर्गत टीम कोडिङ प्रतियोगिता, प्रोजेक्ट प्रस्तुती, प्राविधिक प्रश्नोत्तर, प्राविधिक क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया लगायत गतिविधिहरु हुनेछन् ।’ विगतमा आयोजना गरिएको प्रतियोगितामा भैरहवा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई मात्र समावेश गरिएकोमा यसपटक भने जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा रुपन्देही जिल्लाभित्रका १० वटा क्याम्पस तथा विद्यालयहरुबाट गरी २१ टीमको सहभागीता रहेका प्रतियोगिताका संयोजक तथा बी.एम.सी.आई.टी. क्लबका सचिव सुधीर अर्यालले जानकारी दिए । सचिव अर्यालका अनुसार सहभागी टीमहरुमध्ये प्रथम हुनेलाई रु. १६ हजार, द्वितीय हुनेलाई रु. ८ हजार र तृतीयलाई रु. ४ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । 

भैरहवा बहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख लक्की प्रसाद जोशीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले कार्यक्रममा क्याम्पस प्रशासनबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा भैरहवा बहुमुखी क्याम्पस बी.एस.सी. आई.टी.कार्यक्रमका निर्देशक सुनिल कुमार साह, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।