
बुधवार , माघ २, २०८१
भैरहवा, २ माघ । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १४४ औं श्रृंखला सम्पन्न भएको छ । कार्यक्रमका वक्ता अर्जुन पौडेलले जुनसुकै क्षेत्रमा पनि नेतृत्व लिनका लागि समूहगत अभ्यास हुन जरुरी रहेको बताएका छन् ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.भैरहवा, रुपन्देहीका प्रबन्ध निर्देशक समेत रहेका पौडेल आफ्नो अनुभव साझा गर्दै यस्तो बताएका हुन् । ‘सिद्धार्थनगर सिटी हस्पिटलको सेवा व्यवस्थित हुनुमा संगठनमा एकता कायम हुनु हो’ उनले भने, ‘सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा निजी क्षेत्रबाट सञ्चालन भएको छ । अस्पताल व्यवस्थापनको नेतृत्वमा अनुभवी पौडेलको नेतृवमा रुपन्देहीमा एक अर्को क्यान्सर अस्पताल पनि सञ्चालन हुन् गइरहेको उनले जानकारी दिए ।
एलएसडीटीको तालिम कार्यक्रम अन्तर्गत ‘मेरो कर्म मेरो खुसी’ विषयमा उनले सहभागीहरुलाई भने, ‘मेरो आमाको क्यान्सरको उपचारमा कठिनाइ भोग्नुपरेकोले भैरहवा नजिक मायादेवी गाउँपालिकास्थित बेथरीमा सुमित्रा मेमोरियल हस्पिटल सञ्चालन गर्न लागेका छौं ।’ उनले आफ्नो कर्ममा खुसी हुँदै यस्तो सुनाए। सुमित्रा मेमोरियल हस्पिटल १ अर्ब ५० करोडको लगानीमा अर्जुन पौडेलको व्यवस्थापन (लिडरसीप) मा सञ्चालन हुनेछ । उनले भने, ‘एलएसडीटिको मूल मन्त्र हाम्रो प्रयास, तपाईको अभ्यासबाट समेत प्रेरित भएको छु ।’
भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले एलएसडीटीले समाजमा पारेको प्रभावको चर्चा गरे । १४४ औं श्रृंखलाका अध्यक्ष शैक्षिक परामर्शदाता द नेक्स्ट एजुकेसनका सञ्चालक गोबिन्दराज अधिकारीले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको संयोजन सामाजिक अगुवा बबिता बस्याल भट्टराईले गरेकी थिइन् । उनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन बैंकर्स प्रतिमा काफ्ले गौतमले गरेकी थिइन् ।
एलएसडीटीमा हरेक उमेर समूहका व्यक्तिहरु सहभागी हुने भएकोले यसको महत्व रहेको व्यवस्थापन समिति सचिवालय प्रमुख बिरेन्द्र ज्ञवालीले बताए । उनले भने, ‘यस श्रृंखलामा बालबालिकाको प्रस्तुतिले सहभागीहरुलाई उत्साह थप्यो ।’
कार्यक्रमको प्रारम्भ ध्यान साधनाको प्रशिक्षणबाट हुने गर्छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाकी राजयोगिनी आकृतिले ध्यान गराउनुभएको प्रारम्भिक सहजकर्ता अनुपम गुप्ताले जानकारी गराए ।
यस श्रृंखलामा आफ्नो परिचय दिने र अरुको परिचय गराउने कलाबारे अभ्यास गरिएको गुप्ताले बताए ।
एलएसडीटीको मुख्य प्रशिक्षक विजय पाण्डे हुन । पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व महासचिव हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij