२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भारतीय ओभरलोड गाडीलाई जरिवाना तिराएर निर्वाध चल्न दिइयो : नेपाली ट्रक व्यवसायी

बिहिवार , माघ ३, २०८१


भैरहवा, ३ माघ । नेपाली ट्रक यातायात व्यवसायीहरुले भारतीय ओभरलोड गाडीलाई जरिवाना तिराएर निर्वाध चल्न दिइएको गुनासो गरेका छन् । उनीहरुले जरिवाना मात्र तिराएर समस्या समाधान नहुने दावी गरेका छन् । सडकको क्षमता भन्दा बढी भार बोकेका भारतीय मालबाहक गाडीलाई भन्सार बिन्दुमै पल्टी गराएर नेपाली गाडीमा सामान ढुवानी गराउनुपर्ने उनीहरुको माग छ ।

ओभरलोड गरेर भारतीय सवारीसाधनहरू सञ्चालन गर्नाले नेपाली यातायात व्यवसायीलाई गम्भीर असर परेको तथा ती सवारीसाधनहरुले सडक पूर्वाधार बिगार्नुको साथै नेपाली ट्रक व्यवसायीहरुको पेशा समेत संकटमा परेको उनीहरुले गुनासो गरेका छन् । बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल भारतीय ट्रकको ओभरलोडकै कारण भाँचिएको दावी गर्दै नेपाली व्यवसायीहरुले ओभरलोड भारतीय गाडी चल्न रोक लगाउनुपर्ने माग गरेका छन् ।

गत पुस २६ गते शुक्रबार दिउँसो एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय नम्बर प्लेटको हेभी ट्रक पूर्वतर्फ पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो । सडकको क्षमता भन्दा बढी भार बोकेको भारतीय मालबाहक गाडीका कारण पुल भाँचिएको नेपाली ट्रक व्यवसायीको दावी छ ।

लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाका अध्यक्ष विष्णु प्रसाद खरेलले १०–१२ हजार जरिवाना तिराएर करोडौं–अरबौं रुपैयाँमा निर्माण भएको पुल भाँचिएको बताए । ‘जरिवाना बन्द गर्नुपर्छ, १ हजार/१ हजार ५ सय जरिवाना काटेर समस्या समाधान हुँदैन’उनले भने, ‘जरिवाना तिर्दै जाने अनि ओभरलोड भारतीय गाडी चलाएर पुल भाँच्दै जाने र सधैभरी नेपाली व्यवसायी धरासायी हुने ? अब त अत्ति नै भयो ।’ उनले सडक पनि गुणस्तरीय बनाउनुपर्ने र मुख्य सडकहरु समयमै निर्माण हुनुपर्ने माग गरे । आफूहरुले यसबारे आवाज उठाउँदा सरकार गम्भिर नदेखिएको अध्यक्ष खरेलले गुनासो गरे । ट्राफिक प्रहरीले जरिवाना तिराएर मात्र समस्याको समाधान नहुने उनले जिकिर गरे । संघका महासचिव रुमाखर गौतमले नेपाली ट्रक यातायात व्यवसायी धरासायी भएको बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टीकाराम गौतमले भारतीय ओभरलोड गाडीका कारण नेपाली व्यवसायी धरासायी भएको गुनासो गरे । ‘भारतीय गाडीलाई भन्सार बिन्दुमै रोकेर सामान नेपाली गाडीले बोक्नुपर्छ,’उनले भने । 

लुम्बिनी प्रदेश यातायात व्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डेले सरकारले भारतीय ओभरलोडका गाडीलाई नरोके व्यवसायीले रोक्ने चेतावनी दिए । उनले ओभरलोड भारतीय गाडीले नेपालका सडक ध्वस्त बनाएको आरोप लगाए । ‘यही स्थितिमा ओभरलोडका गाडी नरोके व्यवसायीले नै सडकमा भारतीय गाडी गुड्न दिदैनौं, ’उनले भने ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोक राज पोख्रेलले पटकपटक सीमा नाकामा पुगेर कालो ब्यानरसहित ओभरलोड भारतीय गाडीविरुद्ध अभियानमा उत्रिएको बताए ।

 ‘पहिला नेपालमा करिब ७० हजार ट्रक थिए, अहिले घटेर २० हजार भएका छन्, कतिवटा त थन्किएका छन् । बढी सामान बोकेर ५०–६० हजार कमाउने भारतीय ट्रकलाई ३ हजार जरिवाना गराएर हुन्छ ? उनले प्रश्न गरे ।’ सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नेपाली सडकको बनावट र भारवहन क्षमता ४० टन मात्र रहेको छ । जसअनुसार ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन सम्म मात्रै लोड बोक्न पाउने पोख्रेलले बताए ।