२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

बुटवल–७ मा भाषा तालिम सम्पन्न

शुक्रवार , माघ ४, २०८१

  • 292
    Shares
  • 292
    Shares

  • बुटवल, ४ माघ । नेपाल मगर संघ बुटवल उपमहानगर वडा नम्बर ७ समितिद्वारा आयोजना गरिएको मगर भाषा ‘ढुट’ प्रशिक्षण तालिम सम्पन्न भएको छ । १५ दिनसम्म सञ्चालन गरिएको तालिमको बुधबार समापन गरिएको हो । नेपाल मगर संघ बुटवल उपमहानगर वडा नम्बर ७ इकाइ समितिका अध्यक्ष सूर्य बहादुर गाहा मगरको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा बोल्दै बुटवल–७ का वडाअध्यक्ष पदमराज गाहामगरले मगर भाषा लगायत जुनसुकै भाषा संरक्षणका लागि उक्त भाषा मानवीय जीवनसँग जोडिएको हुनुपर्ने बताए । दैनिक जीवनमा भाषालाई प्रयोगमा ल्याउन आवश्यक रहेको उनको भनाइ छ । बुटवलको हकमा मगर भाषा संरक्षणका लागि भाषा प्रशिक्षणको दैनिक कक्षाहरु सञ्चालन गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

    सो अवसरमा नेपाल मगर बौद्ध सेवा समितिका प्रशिक्षण विभाग प्रमूख पूूर्ण बहादुर तरामीमगर, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगर, पत्रकार सनु थापामगर लगायतले बोलेका थिए । 

    ७१ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको कार्यक्रममा प्रशिक्षणमा उत्कृष्ट हुने विद्यार्थीहरु कालिका रानामगर, प्रेम पुनमगर र सुधा पाडेमगर लगायतलाई सम्मान समेत गरिएको थियो । संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मी पुनमगरको स्वागत तथा सचिव अनन्त बहादुर गाहामगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    यसैबीच नेपाल मगर संघ बुटवल उपमहानगर समितिले माघे सकराटी पर्वको अवसरमा बुटवलमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरुले हरेक समुदायको स्थानीय चाडपर्वलाई राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए । मगर समुदायले माघ १ गते मनाउने माघे सकराटी पर्व पनि यसैमध्येको एक भएकाले यस्ता पर्वहरुलाई संरक्षण गर्दै मौलिकतालाई बचाउन आवश्यक रहेको वक्ताहरुको भनाइ छ । 

    नेपाल मगर संघ बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरे मगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, केन्द्रीय सदस्य ज्ञान बहादुर सलामीमगर, संघका लुम्बिनी प्रदेश उपाध्यक्ष जनक थापामगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरेमगर, वर्ण बहादुर राना, ताराप्रसाद बुढाथोकी लगायतले बोलेका थिए । नेपाल मगर संघ बुटवल उपमहानगर समितिका उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बुढाथोकी मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।