२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देवदहमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रवार , माघ ४, २०८१


रुपन्देही, ४ माघ । रुपन्देहीको देवदहमा नगरस्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको बिहीवार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरे । 

कार्यक्रममा सांसद् विश्वकर्माले खेलको माध्यमबाट राष्ट्रको पहिचान बनाउन सकिनेमा जोड दिए । पूर्वमन्त्री समेत रहेका विश्वकर्माले खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले सहयोग गर्ने बताए । ‘खेलकुदको विकासका लागि खेलाडीलाई वातावरणसँगै तालिमको आयोजना गर्न आवश्यक छ । पछिल्लो समय खेलकुदको महत्व बढ्दै गएको र नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भइ पदक जित्न सफल भएका छन् ।’ उनले भने, ‘खेलाडीहरु राष्ट्रिय गहना भएकोले विद्यालयस्तरबाट उत्पादित खेलाडीको उचित संरक्षण गर्न स्थानीय तहले भूमिका खेल्नुपर्छ ।’ 

त्यस्तै देवदह नगरपालिकाका प्रमुख (मेयर) धु्रवप्रसाद खरेलले खेलकुदको विकासको लागि देवदह नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गरे । उनले खेलकुदको विकासको लागि भौतिक पूर्वाधार निर्माणको लागि नगरपालिका लागिरहेको बताउँदै राष्ट्रपति रनिङ शिल्डले खेलाडी उत्पादनमा विशेष योगदान दिने बताए । 

देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत तथा केरवानी माध्यमिक विद्यालयका शिक्षक यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए । 
माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देवदह क्षेत्रका २७ वटा विद्यालयका ८ सय ४३ खेलाडीहरुले ४२ ईभेन्टमा प्रतिष्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत एथ्लेक्टिसतर्फ २६ ईभेन्ट, भलिबल र कबड्डीतर्फ तर्फ २ वटा ईभेन्ट र कराँतेतर्फ १२ वटा ईभेन्ट हुने ढुंगानाले बताए । उद्घाटनसँगै गत वर्षको विजेता देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ शिल्ड हस्तान्तरण गरेको थियो । 

प्रतियोगिता अन्तर्गत पहिलो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । छात्रातर्फ भएको लंगजम्पमा जनता माविका आशा दगौरिया प्रथम, सगरमाथा आवासीय माविका रोशनी थापा द्वितीय र जनप्रिय माविका पूर्णिमा थारु तृतीय भएका छन् । त्यस्तै छात्रतर्फ प्रगति माविका पवन पासी प्रथम, कोलिय इङलिस बोर्डिङ्गका प्रविन रञ्जितकार द्वितीय र ग्रीन प्लान्ट आवासीय माविका अविरल सुनारले तृतीय स्थान हासिल गरे । 

त्यसै गरी छात्र सटपुटतर्फ सगरमाथा आवासीय माविका अञ्जना विक प्रथम, देवदह बुद्ध पब्लिकका अनिस झेडी द्वितीय र जनप्रिय माविका रिम्स गौतम तृतीय भएका छन् । सोही खेलको छात्रातर्फ भविष्य निर्माण माविका विना श्रीस प्रथम, सगरमाथा आवासीय माविका कृष्टि पौडेल द्वितीय र जनप्रिय माविका खिमा खत्रीले तृती स्थान हासिल गरे । 

छात्रतर्फको १५ सय मिटर दौडमा बुद्ध पब्लिक आवासीय माविका आशिष अग्रहरी प्रथम, मदर टङ्गस एकेडेमीका अरुणा विके द्वितीय र नारायणी पब्लिकका सन्तराम पासीले तृतीय स्थान हासिल गरे । छात्रतर्फ भएको सोही खेलमा युगज्योति माविका आयुष्मा खत्री प्रथम, देवदह बुद्ध पब्लिकका सिम्रन पाण्डे द्वितीय र देवदह बोडिङ्ग स्कुलका संगीता थापा द्वितीय भएका छन् । 

त्यस्तै भलिबल प्रतियोगिताको विभिन्न खेलहरु पनि बिहीबार सम्पन्न भएका छन् । छात्रतर्फ भएको भलिबल खेलमा एशियन लाईट बोडिङ्ग र देवदह बुद्ध पब्लिक दोस्रो चरणमा प्रवेश गरेका छन् । खेलमा देवदह बुद्ध पब्लिकले युगज्योति माविलाई सोझो सेटमा हराउदै दोस्रो चरणमा प्रवेश गरे । 

त्यस्तै एशियनलाई बोडिङ्ग स्कूलले देवदह मदरटङ्गस एकेडेमीलाई २–१, को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । छात्रातर्फ भएको भलिबल प्रतियोगितामा सगरमाथा आवासीय मावि, कोलिय ईङलिस बोडिङ्ग स्कुल र सिता मावि दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक खेमानन्द ज्ञवालीले जानकारी दिए ।