
शुक्रवार , माघ ४, २०८१
भैरहवा, ४ माघ । रुपन्देही जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सक्कल फाइल आउन ढिलाइ भएपछि सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनसम्बन्धी पुरक मुद्दा दर्तामा ढिलाइ भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी लगायतका १४ जनाविरुद्धको पुरक मुद्दा सक्कल फाइल आउन ढिलाइ भएपछि पूरक मुद्दा दर्तामा ढिलाइ भएको जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला सरकारी वकील कार्यालयले पूरक अभियोजन फाइल तयार गरे पनि अदालतमा पुरानो सक्कल फाइल आउन ढिलाइ भएपछि शुक्रबार (आज) दर्ता हुने भनिएको पुरक मुद्दा आइतबार दर्ता हुन सक्ने जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीले सुरु मुद्दामा २०८१ वैशाख ३ गते २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो । तर, बिहीबार सरकारी वकील कार्यालयले राईसहितका १७ जनालाई सहकारी ठगी, संगठित अपराधको कसुर र बिगो थपसहितको थप मुद्दा दर्ताका लागि अदालत पेश गरेको थियो ।
यसअघि सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका संस्थापक अध्यक्ष एवं हालका संरक्षक गितेन्द्रबाबु (जिबी) राई, सुप्रिमका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ, कुमार रम्तेल, सागर केसीसहित २८ जनाविरुद्ध सहकारी ठगी सम्बन्धमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा रवि लामिछाने र छविलाल जोशी जोडिएका थिएनन् ।
तत्कालीन सरकारको जोडबलमा लामिछाने निर्दोष रहेको कागजसमेत जिल्ला सरकारी वकिल कार्यालयबाट सर्वोच्च अदालत मगाइएको थियो । तत्कालीन गृहमन्त्री रहेका रवि, महान्यायाधिवक्ता रमण श्रेष्ठ, प्रधानमन्त्री दाहालको निर्देशनमा सक्कल फाइल नै काठमाडौं पुर्याएर फिर्ता नगरेकाले अहिले मुद्दा दर्तामा ढिलाइ भइरहेको अदालत स्रोतले बताएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij