
शुक्रवार , माघ ४, २०८१
बुटवल, ४ माघ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसूति शल्यक्रिया कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटोछरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने बताए । ‘उपचार सेवा लिन जुन पालो पर्खनुपर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु’मुख्यमन्त्री आचार्यले भने, ‘अब पालो पर्खनुपर्ने समस्यालाई हल गर्न सक्ने छौं भन्ने लागेको छ ।’
प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान जरुरी रहेको उनले औंल्याए । ‘सेवा प्रवाहलाई चुस्त बनाउने भनेको यहाँ कार्यरत जनशक्तिले हो’उनले भने, ‘दत्तचित्त भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यहाँहरुले खेलेको भूमिकाको प्रदेश सरकार प्रशंसा गर्न चाहन्छ । अझ यहाँहरुबाट थप योगदान सरकारले खोजेको छ ।’
त्यसै गरी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल परिवारले सामुहिक भावनाले काम गर्न निर्देशन दिए । प्रदेश सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई नजिकबाट निगरानी राखेर मूल्यांकन गरिरहेको उल्लेख गर्दै मन्त्री सारुले आफ्नो जिम्मेवारीमा प्रतिबद्ध भएर सेवामा लाग्न आग्रह गरे ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मात्र नभइ सिंगो प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’ को रुपमा रहेको उनले उल्लेख गरे । अस्पतालमा आउने जुनसुकै वर्ग वा समुदायका सेवाग्राहीले अपनत्व महसुस गर्ने गरी निःस्वार्थ पूर्वाग्रहरहित भएर काम गर्न अस्पताल परिवारलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिए । त्यसै गरी अस्पतालमा बन्दै गरेको १२ तले अत्याधुनिक भवन निर्माणका कामलाई समयै सम्पन्न गर्नका लागि सरकारले आवश्यक निगरानी र सहजीकरणको काम गरिरहेको समेत जानकारी गराए ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सीमित स्रोतसाधनमा ठूलो जनसंख्यालाई सेवा उपलब्ध गराउनु पर्ने चुनौती रहेको बताए । उनले अस्पताल विकास समितिले आवश्यक सुधार र व्यवस्थापनका लागि काम गरिरहेको उल्लेख गरे । अस्पतालको सेवा विस्तार तथा गुणस्तर सुधारका लागि आर्थिक अभावको चुनौती भोग्नुपरेको बताउँदै उनले सरकारले बीमा सेवा कार्यक्रमवापत उपलब्ध गराउनुपर्ने २२ करोड बढी रकम हालसम्म पनि उपलब्ध नगराउँदा समस्या सिर्जना भएको उल्लेख गरे ।
त्यसै गरी अस्पतालको आयश्रोत वृद्धिका लागि एमडी र बीएससी नर्सिङ कक्षा सञ्चालन गर्ने योजनालाई छिटो कार्यान्वयनका लागि सरकारले सहयोग गर्न आग्रह गरे । त्यसै गरी बन्दै गरेको १२ तले अत्याधुनिक भवन निर्माणको कामलाई प्रभावकारी बनाउनका लागि अनुगमन तथा निगरानीका लागि प्रदेश सरकारले यहाँका सरोकारवाला निकाय तथा अस्पताल परिवारको समेत भूमिका रहने गरी कार्यविधि बनाएर अघि बढ्न सरकारसँग आग्रह गरे ।
भवन निर्माणले मात्रै स्वास्थ्य सेवा विस्तार र गुणस्तर सुधार नहुने बताउँदै उनले अहिलेदेखि नै त्यसअनुरुपका योजनाहरुका लागि तयारी थाल्न आग्रह गरे ।
अस्पताल प्रमुख तथा मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले अस्पताल प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष स्थापना भएपछि अब शल्यक्रियाका लागि पालो कुर्नुपर्ने विगतको समस्या ३३ प्रतिशत बढीले हल हुने जानकारी दिए ।
प्रसूति सेवातर्फ विशिष्टिकृत अस्पतालको रुपमा स्थापित गर्न थप गरिएको शल्यक्रिया कक्षले सहयोग गर्ने बताउँदै उनले यसबाहेकका सेवामा समेत पालो कुर्नुपर्ने अवस्थालाई उल्लेख्य मात्रामा कम गर्ने विश्वास व्यक्त गरे । अस्पतालमा सेवा विस्तार र गुणस्तर सुधारका लागि केही दिनमै अनलाइन भुक्तानी सेवा, नगद काउन्टर तथा फार्मेसी सेवा विस्तार, अनलाइनमै बिरामीले आफ्नो रिपोर्ट हेर्न पाउने व्यवस्था लगायतका सेवा सुचारु गर्ने योजनाहरु सुनाए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव बासुदेव उपाध्यायले अस्पतालका विभिन्न कक्षहरुको अनुगमन तथा निरीक्षणपछि सुधारका लागि आवश्यक सहयोगको प्रतिवद्धता गरेका थिए । प्रसूति सेवालाई विस्तार गर्दै तीनवटा शल्यक्रिया कक्षसँगै ८ वटा बेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेड सञ्चालनमा आएको हो । सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको ढकालले जानकारी दिए । जनरल रुपमा २ वटा अपरेशन थिएटर रहेका छन् ।
विगत ३ वर्षको तथ्यांक अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा ९ हजार ७ सय ६५ वटा शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको रहेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसूति सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये ७ हजार ५ सय ४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् ।
पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्यांकमा उल्लेख छ । अस्पतालमा शल्यक्रिया कक्ष विस्तार गरेसँगै सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij