
शनिवार , माघ ५, २०८१
भैरहवा, ५ माघ । लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति, रुपन्देहीको २०८१ माघ २६ गते हुने १८ औं साधारण सभाको तयारी तीव्र रुपमा भइरहेको छ । साधारण सभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न तयारी तीव्र रुपमा अघि बढेको संघकी अध्यक्ष मन्जु भुषालले बताइन् ।
सोही सन्दर्भमा संघले शनिबार भैरहवामा कार्यसमिति भेटघाट तथा छलफल कार्यक्रम गरेको छ । सो अवसरमा अध्यक्ष भुषालले संघको पुस २० गते सम्पन्न १२ औं नियमित बैठकले साधारण सभाका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी तोकिसकेको बताइन् । ‘साधारण सभा भव्य र सभ्य रुपमा सफल पार्न लागिपरेका छौं,’उनले भनिन्, ‘तयारी तीव्र रुपमा अघि बढेको छ ।’
साधारण सभाका लागि अध्यक्ष मन्जु भुषालको संयोजकत्वमा मूल आयोजक समिति गठन भइ जिम्मेवारी विभाजन गरिएको महासचिव प्रितम रौनियारले जानकारी दिए । जसअनुसार आर्थिक तथा खाद्यान्न उपसमितिको संयोजकमा कोषाध्यक्ष यज्नय प्रसाद बेल्वासे, प्रचार–प्रसार तथा समन्वयमा महासचिव प्रितम रौनियार, आवास तथा अतिथि सत्कारमा प्रथम उपाध्यक्ष रमेश बेल्वासे, पुरस्कार, स्मारिका तथा मायाको चिनोको संयोजकमा सचिव राजन ज्ञवाली रहेका छन् ।
त्यस्तै सुरक्षा तथा पार्किङमा सदस्य शुभम रौनियार, स्वास्थ्यमा सदस्य सतिस मिश्रा, मञ्च व्यवस्थापनमा सदस्य टिका कुमारी शर्मा, पूर्वअध्यक्ष सम्मानमा सल्लाहकार सफिक अहमद खान र प्रेस संयोजकमा प्रेस सल्लाहकार रिया क्षेत्री रहेका छन् । कार्यक्रममा संघका सल्लाहकार जबिन कक्षपतिले साधारण सभालाई सभ्य भव्य रुपमा सम्पन्न गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका सहजकर्ता मनोज भट्टराईले साधारण सभा सम्पन्न गर्न जिम्मेवारी विभाजन गरिएको र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गरे । ‘सबैका साथ र सहयोगले साधारण सभा सफलतापूर्वक सम्पन्न हुन्छ, ’उनले भने । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विनय ज्ञवाली, सह–कोषाध्यक्ष पवन कुमार मिश्रा लगायतले भनाइ राखेका थिए ।
यसैबीच लुम्बिनी निर्माण व्यवसायी संघले शनिबार नै पूर्वअध्यक्ष तथा सल्लाहकारहरुसँग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ । बैठकमा संघका पूर्वअध्यक्ष रुद्र शर्मा, निवर्तमान अध्यक्ष विनय ज्ञवाली, सल्लाहकार जबिन कक्षपति लगायतले साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।
संघका सहजकर्ता मनोज भट्टराईको सञ्चालनमा भएको कार्यक्रमको उद्देश्यमाथि अध्यक्ष मन्जु भुषालले प्रकाश पारेकी थिइन् । सहजकर्ता भट्टराईका अनुसार कार्यक्रममा १८ औं साधारण सभाको अवसरमा प्रकाशन गर्न लागिएको ‘लुम्बिनी निर्माण’ नामक विशेषांकमा संघको इतिहास, समग्र गतिविधि लगायतलाई समेट्नुपर्ने पूर्वअध्यक्ष तथा सल्लाहकारको जोड थियो ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारण सभा यही माघ २६ गते शनिबार बिहान ९ बजेदेखि भैरहवास्थित संघको सभाहलमा सुरु हुने महासचिव प्रितम रौनियारले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij