२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

टोल सुधार समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण

शनिवार , माघ ५, २०८१

भैरहवा, ५ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ नम्बर वडा कार्यालयले वडामा रहेका टोल सुधार समितिका पदाधिकारीहरुलाई उनीहरुको काम, कर्तव्य तथा अधिकारहरुबारे अभिमुखीकरण प्रदान गरेको छ । शनिबार चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को सभाहलमा आयोजित कार्यक्रममा वडा अन्तर्गतका ७ वटा टोल सुधार समिति, आमा समूह तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

कार्यक्रममा वक्ताहरुले टोल सुधार समिति वडा कार्यालयको सहयोगीको रुपमा रहेको र यसले पालिकाले प्रवाह गर्ने सूचना तथा सेवाहरुलाई नगरको घरघरसम्म पुर्‍याउन सहयोग गरेको बताए । सिद्धार्थनगर नगरपालिकामै वडा नम्बर ९ टोल सुधार समिति गठन र समितिहरुको परिचालनको मामिलामा उत्कृष्ट रहेको बताउँदै वक्ताहरुले यसले वडाको विभिन्न कामहरु सहज भएको धारणा राखे । 

कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले वडामा गठित टोल सुधार समितिहरुकै कारण विभिन्न कार्यक्रमहरुमा आफुलाई गौरवान्दित हुने मौका मिल्ने गरेको बताए । उनले टोलमा सचेतना फैलाउने काममा समितिका पदाधिकारी तथा सदस्यहरु कुनै प्रकारको झर्को नमानी काम गर्नुपर्ने धारणा राखे । टोल सुधार समितिहरु वडाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोले यी समितिहरुलाई मजबुत बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको बताए । 

वडाअध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु बसन्त भट्टराई, बसुन्धरा शर्मा, युवराज बराल, सविता हरिजन लगायतले बोलेका थिए । वडा सचिव अब्दुर रसिद पठानको सञ्चालनमा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रमलाई सिद्धार्थनगर नगरपालिकाका अधिकृत कमलकान्त खनाल र पूर्व अधिकृत शेखरनाथ पन्थीले सहजीकरण गरेका थिए ।