
आइतवार , माघ ६, २०८१
भैरहवा, ६ माघ । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेलहरु सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलहरु भएका थिए । नेपाल सुपर लिगका कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेलहरु पछि धकेलिएका थिए । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु ‘ए’ डिभिजनको पहिलो खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरी क्लबलाई ४५ रनले पराजित गर्दै वेष्टर्नले विजयी सुरुवात गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ३२ ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनकोे योगफल बनायो । उसका लागि भुवन पाण्डेले २८, निरकुमार गुप्ता र अभिषेश गौतमले समान २०–२० तथा इशान पाण्डेले १६ र देव खनालले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका शाहब आलम, अजयकुमार चौहान र शंकर रानाले २–२ तथा शेहजाद आलमले १ विकेट लिए।
जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले २८ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९४ रन बनायो र हार ब्यहोर्यो । उसका लागि शंकर रानाले सर्वाधिक २२ रन बनाउँदा निश्चल चौधरीले १६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् र टीमले हार व्यहोर्यो । खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सुझाव थापाले ७ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, इशान पाण्डेले २ तथा सन्देश थापा र अभिशेष गौतमले १–१ विकेट लिए । खेलमा सुझाव थापा प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij