२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलको गोलपार्कमा निःशुल्क स्वास्थ्य शिविर

आइतवार , माघ ६, २०८१

बुटवल, ६ माघ । निःशुल्क स्वास्थ्य सेवा प्रदान गरी नागरिकप्रतिको उत्तरदायित्व बहन गर्ने उद्देश्यले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वडा कार्यालयको आयोजना तथा औषधी विक्री प्रतिनिधि संघको सहकार्यमा सम्पन्न शिविरमा करिब ४ सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको वडा कार्यालयले जनाएको छ । 

शिविरको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेले शिक्षा र स्वास्थ्य जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा उपमहानगरले प्राथमिकताका साथ कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । मानव जीवनका लागि स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएकाले नगरबासीका लागि स्वास्थ्य सम्बन्धी महत्पुर्ण कार्यक्रमहरु सञ्चालन गरिएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको महसुस गराउनु मुख्य लक्ष्य रहेको बताए । 

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विष्णु प्रसाद ढकालले खास गरी आर्थिक अवस्था कमजोर भएका वडाबासीहरुलाई मध्यनजर गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधी वितरण, ल्याब परीक्षण, एक्स–रे लगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिएको अध्यक्ष ढकालले उल्लेख गरे । आर्थिक रुपमा विपन्न परिवार ४५ जनाको निःशुल्क रुपमा वडामार्फत नै स्वास्थ्य बीमा समेत गरिएको पनि अध्यक्ष ढकालले जानकारी दिए । 

वडा सदस्य पवित्रा श्रेष्ठका अनुसार आफ्ना वडाभित्र रहेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले वडा कार्यालयको तत्वावधानमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको हो । आर्थिक रुपमा विपन्न समुदायलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष पहँुच पुर्याउनका लागि यो शिविर फलदायी हुने सदस्य श्रेष्ठको भनाइ छ । 

462583617_2052246108608974_2776505614936016861_n.jpg

नेपाल औषधी तथा विक्रेता प्रतिनिधि संघकातर्फबाट कार्यक्रम संयोजक थानेश्वर बस्यालले शिविरमा पेट, छाती तथा मुटुरोग विशेषज्ञ सेवा, नाक, कान तथा घाटी रोग विशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा, मुख तथा दन्तरोग विशेषज्ञ सेवा, निःशुल्क भिडियो एक्स–रे सेवा, निःशुल्क ल्याब परीक्षणका साथै निःशुल्क औषधी वितरण गरिएको जानकारी दिए । शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल, नेपाल औषधी तथा विक्रेता प्रतिनिधि संघ, साथी फार्मेसी, आरोग्य हेल्थ केयर, थाइरो ल्याब प्रा.लि. लगायतको सहयोग रहेको वडा कार्यालयले जनाएको छ ।