
आइतवार , माघ ६, २०८१
भैरहवा, ६ माघ । रुपन्देहीमा ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस ‘एचपीभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि पहिलो चरणमा र दोस्रो चरण फागुन १ गते देखी सञ्चालन हुने स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । खोप अभियान अन्तर्गत विद्यालयमै पुगेर कक्षा ६ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाइने ज्ञवालीले बताए ।
विद्यालयबाहिरका १० देखि १४ वर्षमुनीका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ ९ गतेसम्म जिल्लाका १६ स्थानीय तहका स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य भइरहेको छ । यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम कार्यालयको रहेको छ ।
नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएको छ । त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ ।
‘एचपीभी’ भाइरस मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा संक्रमित व्यक्तिको यौनांगको छाला, झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij