२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य

आइतवार , माघ ६, २०८१

देउखुरी, ६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको बताएका छन् । उनले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका हुन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उनले जनताको सुसूचित हुने अधिकारलाई सम्मान गर्दै हरेक सरकारी क्रियाकलाप जनतासमक्ष पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए । उनले सरकारका हरेक कदम स्पष्ट, छरितो र प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउनु आजको समयको माग भएको बताए ।
मुख्यमन्त्री आचार्यले सरकारका हरेक कार्यहरूमा पारदर्शीता आवश्यक भएको भन्दै जनताले छर्लङ्ग देख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । उनले जनताको माग बमोजिम सूचना उपलब्ध गराउन ढिलासुस्ती नगर्न र सूचना प्रवाहमा हुने आनाकानी तथा अपारदर्शी प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

‘सरकारले जनताको हितका लागि काम गर्छ । हामी जनताको ऐना हौं । हाम्रो कार्यशैली र उपलब्धी स्पष्ट रूपमा जनताले देख्न पाउनुपर्छ’उनले भने–’सरकारको कामलाई पारदर्शी र भष्टाचारमुक्त बनाउन सूचनाको हकलाइ प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।’उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै मुख्यमन्त्री कार्यालयबाट सूचना अधिकारी तोक्न निर्देशन दिइसकेको जानकारीसमेत दिए । उहाँका अनुसार सूचना व्यवस्थापनमा सुधार ल्याएर जनतासमक्ष सरकारका काम पुर्याउनै पर्नेछ ।  सूचना माग गर्दा अप्ठ्यारो महसुस नगरी समयमै सूचना उपलब्ध गराउन निर्देशन दिदै यो कार्य सरकारलाई सच्चिन र सुध्रिन सहयोगी हुने धारणा राखे ।

उनले पारदर्शीता र जनउत्तरदायित्वको माध्यमबाट जनताको विश्वास जित्न सरकारले गम्भीर भूमिका खेल्नुपर्ने बताए । उनले सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षालाई सम्बोधन गर्ने दिशामा काम गर्न सबै सरकारी निकायहरू सचेत हुनुपर्नेमा जोड दिए । सूचना व्यवस्थापनमा हुने ढिलासुस्तीले जनतामा नकारात्मक धारणा उत्पन्न हुने भएकाले यसलाई तत्काल अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

अभिमुखीकरण कार्यक्रममा सहभागी अधिकारीहरूले सूचना प्रवाहलाई व्यवस्थित गर्दै जनउत्तरदायी शासन प्रवर्द्धन गर्न सरकारका पहललाई साथ दिने प्रतिवद्धता जनाएका थिए । मुख्यमन्त्री आचार्यले कार्यक्रममा सहभागी सबै अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर रहन र जनताको हितमा थप सक्रिय हुन निर्देशन दिए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डाक्टर सुरेश प्रसाद आचार्यको उपस्थितिमा प्रदेश सरकारले कार्यक्रम गरेको थियो ।