२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि लामिछानेसहितको मुद्दा रुपन्देही जिल्ला अदालतमा दर्ता

आइतवार , माघ ६, २०८१

भैरहवा, ६ माघ । जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनसम्बन्धी मुद्दाका आरोपीहरु माथि दुईवटा अभियोजन दर्ता भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पेश गरेको थप अभियोजन र पुरक अभियोजन जिल्ला अदालत रुपन्देहीले आइतबार (आज) दर्ता गरेको हो ।

अदालतले सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राई (जिवि) सहित १७ जनाविरुद्ध थप अभियोजन र गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध पुरक अभियोजन दर्ता गरिएको अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । 

दुवै मुद्दा आज साँझ ५ बजेतिर मात्र दर्ता भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । थप अभियोजनको दर्ता नम्बर ०८१ सी वान ०५३२ र थप अभियोजनको दर्ता नम्बर ०८१ सी वान ०५३३ रहेको अदालतले जनाएको छ ।
वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध वैशाखमा मुद्दा दर्ता भएको थियो ।

सुरु मुद्दामा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएकाले १७ जनालाई संगठित अपराध पनि थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए । रवि लामिछाने, छविरलाल जोशीसहित जोडिएको पूरक जाहेरी अनुसारको अभियोजन पनि आजै दर्ता गरिएको हो । सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई थप संगठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमै मुद्दा चल्ने उनको भनाइ छ ।

सरकारी वकिलको कार्यालयले मुल अभियोगमा ८६ करोड बढी, थप अभियोगमा २ करोड ७ लाख बढी र पुरक अभियेगमा ५५ करोड ५८ लाख बढी बिगो दावी गर्दै मुद्दा दर्ता गरिएको जिल्ला न्यायधिवक्ता पौडेलले जानकारी दिए । 

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको बताइएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।