
आइतवार , माघ ६, २०८१
दाङ, ६ माघ । लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको बिदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख सचिव पन्थलाई बिदाई गर्दै प्रशंसा–पत्र प्रदान गरेका हुन् ।
संघीयता कार्यान्वयन गर्दैै कर्मचारी प्रशासनलाई चुस्त बनाउन पन्थले अतुलनीय भूमिका खेलेको भन्दै मुख्यमन्त्री आचार्यले प्रशंसा गरे । ‘प्रदेशमा जनशक्तिको अभाव थियो । कति कर्मचारी आवश्यक हो भन्ने पनि एकिन थिएन । तर, उहाँको नेतृत्वमा ओएनएम सर्भे गरेर दरबन्दी एकिन गर्ने काम भयो’मुख्यमन्त्री आचार्यले भने,‘अब प्रदेशलाई चाहिने जनशक्ति व्यवस्थापन गर्ने काम लोकसेवामार्फत अघि बढेको छ । अब लुम्बिनीले जनशक्तिको समस्या भोग्नेछैन ।’
प्रदेशलाई सुशासनयुक्त बनाउन र भ्रष्टाचारविरुद्ध अभियान चलाउन पाँचवर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको समेत मुख्यमन्त्री आचार्यले बताए । पन्थ गत जेठ ८ गते निमित्त प्रमुख सचिव, साउन ७ गतेदेखि कायम मुकायम सचिव र भदौ २७ गतेदेखि प्रमुख सचिवको जिम्मेवारीमा थिए ।
पन्थको बागमती प्रदेशमा प्रमुख सचिवको रुपमा सरुवा भएको हो । प्रदेशमा निजामती सेवा र प्रशासनलाई चुस्त बनाउन सबै पक्षबाट साथ सहयोग प्राप्त गरेको बताए । लुम्बिनीमा बाबुराम अधिकारी प्रमुख सचिवको रुपमा आउँदैछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij