
आइतवार , माघ ६, २०८१
लुम्बिनी, ६ माघ । लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन सुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट सञ्चालन गरिने भएको हो ।
देवदह शितलनगरबाट मणिग्राम, भैरहवा बेलहिया एयरपोर्ट हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म सिधा विजुली बस सञ्चालन गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । उनका अनुसार हप्ताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्तीधातु रहेको रामग्रामबाट बिजुली बस सञ्चालन गर्ने गरी नयाँ रुट बनाइएको हो ।
कोषाध्यक्ष भट्टराईले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिने गरी बिजुली गाडी ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर सञ्चालन गरिएको बताए । उनले रामग्राम, देवदह र पण्डितपुर जस्ता ऐतिहासिक पुरातात्विक क्षेत्रको विकास, संरक्षण र प्रबद्र्धन गर्ने गरी देवदह कार्यालयमा हप्ताको दुईदिन बसेर सेवा दिन थालेको समेत बताए ।
पुरातात्विक धार्मिक क्षेत्रको स्थानीय पालिका, सामुदायिक संगठन र संस्थाहरूसँग मिलेर कोषको नीति स्थानीयसँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँचवटामध्ये दुईवटा बस धम्मयात्रा लेखेर परीक्षण स्वरुप सञ्चालन गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij