२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एलएसडीटीमा भीम अस्पतालको चर्चा

आइतवार , माघ ६, २०८१

भैरहवा, ६ माघ । रुपन्देहीको भैरहवामा वि.सं. १९९० मा स्थापना भएको भीम अस्पतालको बारेमा चर्चा गरिएको छ । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १४५ आंै श्रृंखलामा भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले ‘आजको भीम अस्पताल’ विषयमा भनाइ राखेका थिए । उनले भने, ‘भीम अस्पतालमा अहिले धेरै सुधार भएको छ । कोभिड महामारीमा भैरहवा र यस आसपासका पालिकाका नागरिकहरुलाई यो अस्पतालप्रति विश्वास बढेको छ ।’

उनले थपे, ‘सरकारले ३ शैयाबाट स्थापना गरेको अस्पताल १५ शैया हँुदै २५ शैया भयो । तर, सरकारबाट ५० शैया भन्दा बढी आधिकारिक अनुमति प्राप्त हुन् सकेको छैन । समितिको तर्फबाट ५७ शैया व्यवस्थापन गरी १०७ शैयाको सेवा दिदै आएका छौं ।’ यस विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका उनले बताए । ‘तर, यसमा राजनीतिक दल, स्थानीय सरकार, विभिन्न संघ–संस्था, समाजसेवीहरुको भूमिका महत्वपूर्ण रहेको छ । सबैको साथ र सहयोगको खाँचो छ, ’उनले भने ।

WhatsApp Image 2025-01-19 at 2.58.25 PM.jpeg

भीम अस्पतालको मेडिकल अधिकृत, अस्पतालको प्रमुख (मेडिकल सुपरीटेण्डेण्ट) भइसकेका डा. शर्मा अहिले सोही अस्पताल विकास समिति अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । हृदयघात हुनासाथ प्राथमिक सेवा दिन सके मानवीय क्षति रोक्न सकिने भएकोले मुटुसम्बन्धी उपचार सेवा प्रदान गर्नका लागि योजना बनाउन लागेको उनले बताए । त्यसका निम्ति थप ओपिडी सेवाको लागि आवश्यक कक्ष निर्माणमा लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानबाट सहयोग प्राप्त हुने आश्वासन पाएको पनि उनले सुनाए । भीम अस्पतालको विकासमा स्वर्गीय लीलाराम न्यौपानेका परिवारले विभिन्न सहयोग गर्दै आएका छन् । 

भीम अस्पतालले प्रदान गर्दै आएको सेवामा सुधार हुँदै गएको एलएसडीटीका सदस्यहरुले बताएका छन् । एलएसडीटी सदस्य तथा बैंकर्स मानिस तामाङले आफ्नो पहिलो सन्तान भीम अस्पतालमा जन्मिएको जानकारी दिए । उनले भने, ‘मैले सुनेको जस्तै भीम अस्पतालमा राम्रो उपचार सेवा पाए ।’

त्यस्तै एलएसडीटीका सदस्य विरेन्द्र ज्ञवालीले आफ्नो छोरीको शल्यक्रिया पनि भीम अस्पतालमा गराएको सुनाए । त्यसै गरी एलएसडीटी सदस्यहरु पल्लवी न्यौपाने, गोविन्द अधिकारी, बिमला बेलबासे, हरिश सेठिया, अर्जुन पाठक, बबिता पाण्डेलगायतले भीम अस्पतालबारे आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा.शर्मालाई एलएसडीटीका सदस्यहरुले भीम अस्पतालले सुधार गर्नुपर्ने विषयका बारेमा बताएका थिए । शनिबार भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालित १४५ औं श्रृंखलाका अध्यक्ष तथा व्यवसायी गोपाल भण्डारीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सुधार गर्नुपर्ने बुँदागत सुझाव पेश गरेका थिए । 

एलएसडीटीका सदस्य सन्दिप कुमार अग्रहरीको स्वागत तथा एलएसडीटी सदस्य एवं खाद्यान्न व्यवसायी दीपक जयसवाल र बीमा व्यवसायी गोबिन्द प्रसाद गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तालिम कार्यक्रममा बालमंच सदस्य योग्यता गिरीले ‘सहयोगी बनांै’ शिर्षकमा मन्तव्य राख्नुभएको एलएसडीटी व्यवस्थापन समिति सदस्य हरिश सेठियाले बताए ।