२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बेलहिया माविको स्वर्णजयन्ती महोत्सव उद्घाटन, निकालियो प्रभातफेरी

सोमवार , माघ ७, २०८१

भैरहवा, ७ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियास्थित श्री बेलहिया माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सव उद्घाटन गरिएको छ । आइतबार एक समारोहकाबीच स्वर्णजयन्तीको उद्घाटन गरिएको हो । समारोहको सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष पोखरेलले आफू बेलहिया माविको पूर्व विद्यार्थी रहेको बताए । ‘मैले अध्ययन गरेको यो विद्यालयको स्वर्ण जयन्ती महोत्सव मित्रराष्ट्र भारतमा चलिरहेको महाकुम्भ मेला जस्तै गरी भव्य रुपमा मनाउनुपर्छ,’ उनले भने । स्वर्ण जयन्तीको अवसरमा हुने सप्ताहव्यापी कार्यक्रम सफल बनाउन आफू र वडा कार्यालयको साथ र सहयोग रहने उनले प्रतिवद्धता व्यक्त गरे ।

समारोहको उद्घाटन अघि प्रभातफेरी निकालिएको थियो । बेलहिया मावि प्रांगणदेखि सुरु भएको प्रभातफेरी नौडिहवा, हर्नैया, सुख्खा बन्दरगाह, बेलहिया गाउँ हुँदै पुनः विद्यालय प्रांगणमा पुगेर समारोहमा परिणत भएको प्रधानाध्यापक बिना भण्डारीले बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपानेको अध्यक्षता, सहायक प्रधानाध्यापक विजेश कार्कीको स्वागत तथा शिक्षिका इन्दिरा शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकार, सुरक्षाकर्मी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

श्री बेलहिया माविको स्वर्ण जयन्ती महोत्सव तथा अभिभावक दिवस-२०८१ मूल समारोह लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा यही माघ १३ गते हुँदैछ । 

स्वर्ण जयन्ती महोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, स्मृति खेल, आँखा परीक्षण शिविर, विज्ञान प्रदर्शनी, फूड फेस्टिबल, वक्तृत्वकला प्रतियोगिता, खुला नेत्रदान कार्यक्रम, आन्तरिक खेलकुद कार्यक्रमको पुरस्कार वितरण, अभिभावक सचेतना कार्यक्रम हुनेछ । त्यस्तै मूल समारोहमा साँस्कृतिक कार्यक्रम, साँस्कृतिक भेषभुषा प्रदर्शन तथा सम्मान कार्यक्रम हुने विद्यालयले जनाएको छ ।