२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

सोमवार , माघ ७, २०८१

  • 778
    Shares
  • 778
    Shares
  • रुपन्देही, ७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन गरेका छन् । सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको चाहना पूरा गर्ने उद्देश्यसहित सहयोगापेक्षी तथा सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण अभियान अन्तर्गत उक्त भवन निर्माण गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडकआश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी उनीहरूको पुनःस्थापनालाई प्राथमिकता दिने बताए । ‘कोही पनि भोकै बस्नुपर्ने छैन, सडकमा बास हुने अवस्था समाप्त पार्न सरकारले आवश्यक कार्यविधि बनाउनेछ’मुख्यमन्त्री आचार्यले भने–’कार्यविधि यसै वर्ष बनाउछौं ।’ आगामी वर्षका बजेट तथा कार्यक्रममार्फत यस अभियानलाई थप मजबुत बनाइने उनको भनाइ छ ।

    मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार साढे ७ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको छ । प्रदेश र स्थानीय सरकारको १ करोड ८३ लाख सहयोग रहेको र बाँकी रकम विभिन्न दानदाताबाट संकलन गरिएको जनाइएको छ । भवनको पूर्ण निर्माणका लागि थप २ करोड बजेट आवश्यक पर्ने आश्रमले जनाएको छ ।

    WhatsApp Image 2025-01-20 at 1.01.03 PM.jpeg

    प्रदेश सरकार र मानवसेवा आश्रमको सहकार्यले सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायत स्थानीय तहका प्रमुख, उप्रमुख, उद्योगी–व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो ।