२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बगहा माविमा चारकोठे भवनको शिलान्यास

सोमवार , माघ ७, २०८१

भैरहवा, ७ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बगहास्थित श्री बगहा माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण हुने भएको छ । भवनको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले २०८२ असार २० गतेसम्म चारकोठे (दुईतले) भवन निर्माण गर्ने सम्झौता भएको बताए । २०८१ पुस २४ गते भएको सम्झौता अनुसार ७१ लाख ३० हजार रुपैयाँमा रोहिणी निर्माण सेवा, रोहिणी–१ ले भवन निर्माण गर्नुपर्नेछ ।

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेको बताए । भवन निर्माण भएपछि विद्यार्थीहरुलाई पठनपाठनमा अझ सहज हुने उनले विश्वास व्यक्त गरे ।

रोहिणी–१ का वडाअध्यक्ष आविद अली पठानले शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधारमा लगानी भएको र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिइएको बताए । शिक्षक र विद्यालय व्यवस्थापन समितिबाट शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको उनले बताए ।

बगहा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर उप्रेतीले विद्यालयलाई अझ राम्रो बनाउने सोचका साथ अघि बढेको बताए । ‘मैले यसै विद्यालयमा पढेको हुँ, त्यसैले पनि यो विद्यालयको धेरै माया लाग्छ । मैले नेतृत्व सम्हालिसकेपछि शैक्षिक गुणस्तरमा सुधार आएको छ । यस वर्ष नतिजामा सुधार आएको छ । अर्को वर्षमा थप सुधार हुन्छ, ’उनले भने ।

वि.सं. २०२१ सालमा स्थापना भएको बगहा माध्यमिक विद्यालयमा हाल ५३३ जना विद्यार्थी अध्ययनरत र २० जना शिक्षक/कर्मचारी जना कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक प्रेमनाथ त्रिपाठीले बताए । आफूले बगहा माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिसकेपछि शैक्षिक गुणस्तर सुधार भएको दावी गरे । 

भवन शिलान्यास कार्यक्रममा रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।