२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समाज कल्याण र सेवाका लागि समर्पण जरुरी : मुख्यमन्त्री आचार्य

सोमवार , माघ ७, २०८१

रुपन्देही, ७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा मानव सेवा आश्रमले आयोजना गरेको महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री आभार्यले समाज कल्याणका लागि महायज्ञ गर्न थालिएकोमा खुसी व्यक्त गरे ।

मानवसेवा, विकास र उन्नतिको लागि महायज्ञको माध्यमबाट योगदान गरिएको भन्दै उनले प्रशंसा गरे । उनले प्रदेश सरकारले मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुको स्वास्थ्य उपचारका लागि प्रदेश सरकारले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यो धर्तीमा जतिसम्म रहन्छौं, सेवामा समर्पित हुनुपर्छ’उनले भने–‘हाम्रो समाज, हाम्रो परम्पराले पनि आम्दानीको १० प्रतिशत रकम सेवाको निम्ति दान गर्नु भनेको छ । त्यही भएर यस्ता पवित्र काममा मन फुकाएर, मुठ्ठी फुकाएर दान गर्न जरुरी छ ।’ 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित पहुनीमा निर्माणाधीन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोड भन्दा बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । 
उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, उद्योगी–व्यवसायी, सामाजिक अभियानकर्मी लगायतको उपस्थिति थियो ।

सात दिनसम्म चल्ने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहेका छन् । सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रम राखिएका छन् । महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिनेछ । महायज्ञबाट संकलित रकमबाट अक्षकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ ।

२०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिदै आएको छ । मानव सेवा आश्रमले २०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी गरेको छ ।

उक्त अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको मानवोचित व्यवस्थापन गरिने विश्वास गरिएको छ ।