
मंगलवार , माघ ८, २०८१
भैरहवा, ८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीद्वारा निर्मित पिउने पानीको धारा र शहीद स्मारकको उद्घाटन गरिएको छ । पिउने पानी धारा र शहीद स्मारकको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले सोमबार उद्घाटन गरेका हुन् ।
क्वीक इम्प्याक्ट प्रोजेक्ट (क्यूआईटी) अन्तर्गत पिउने पानीको धारा जडान गरिएको सशस्त्र प्रहरी उपरीक्षक थापामगरले बताए । ‘सीमा क्षेत्रमा आउजाउ गर्ने नागरिक तथा पर्यटकलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो’उनले भने– सशस्त्र प्रहरीको यो सानो प्रयास हो, क्रमशः यस्ता गतिविधि बढाउँदै जानेछौं ।’ उनका अनुसार क्यूआईटी सशस्त्र प्रहरी बलको प्रभावकारी योजना हो । सडक विभाग, स्थानीय तह, आम नागरिक लगायतसँग समन्वय र सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ डण्डास्थित पर्यटकीय गेट नजिकै सशस्त्र प्रहरीले पिउने पानी धारा निर्माण गरेको हो ।
त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बि.ओ.पी. डण्डा), रुपन्देही अगाडि शहीद स्मारकको निर्माण गरिएको छ । जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण हेतु कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका सशस्त्र प्रहरीको सम्झनामा शहीद स्मारिका निर्माण गरिएको एसपी थापामगरले बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) मोहन न्यौपाने, चन्द्र कुमार थापा जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न कार्यक्रम गर्दै २४ औं सशस्त्र प्रहरी दिवस मनाइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij