२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : लुम्बिनी खुकुरी ९७ रनले विजयी

मंगलवार , माघ ८, २०८१

भैरहवा, ८ माघ । मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लबले जीत निकालेको छ । खुकुरीले एमसीसीलाई ९७ रनले पराजित गर्दै जीत निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनायो । उसका लागि साहब आलमले अविजित ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, कसेजाद आलमले ४८, जमिर अलीले ३६, निश्चल चौधरीले २०, शंकर रानाले १५ र प्रज्वल थापाले १२ रनको योगदान गरे । बलिङमा एमसीसीका अब्दुल हबिब र विपिन आचार्यले २–२ तथा रमेश कुर्मी र अरुण पाठकले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एमसीसी ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय ३५ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि विपिन आचार्यले ४१, विजय प्रजापतिले २९, रमेश कुर्मीले २३ र सन्दीप रजालीले १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन । 

बलिङमा खुकुरीका साहब आलम, सन्देश जिसी र अजय कुमार चौहानले ३–३ तथा दुर्गेश गुप्ताले १ विकेट लिए । खेलमा साहब आलम प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।