
सोमवार , चैत्र २, २०७७
कैलाली, २ चैत्र।
नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको मुल लक्ष्य मध्यावधी निर्वाचन वा सरकार नभै आगामी आमनिर्वाचन रहेको बताएका छन्। तर सरकारको नेतृत्व गर्नै पर्ने अवस्था आएमा भने काँग्रेस जिम्मेबारीबाट पछि नहट्ने डा. महतले बताए।
नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताउदै मध्यावधी निर्वाचन होस भन्ने काँग्रेसको चाहाना नरहेको प्रष्ट पारेका छन्। काँग्रेस आम पार्टी कार्यकर्ता र जनताको राय अनुसार चल्ने पार्टी भएको दावी गरे।
अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने भन्दै संचारकर्मीहरुलाई कुटनैतिक जवाफ दिँदै डा. महतले भने—‘संसदको अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले नेतृत्व लिन्छ।’ तर अरुलाई समर्थन गरेर वा अरुको नेतृत्वमा भने सरकारमा नजाने ठोकुवा समेत उनले गरेका छन्।
यसअघि डा. महतले नेपाल राष्ट्रिय मगर संघको सुदुरपश्चिम सम्मेलन उद्घाटन गर्दै काँग्रेस सबै जातजाती, भाषा भाषी, लिङ्ग, क्षेत्र, बर्ग, समुदायको साझा पार्टी भएको दावी गर्दै सबै भावना बुझेर नै पार्टी अघि बढ्ने बताएका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij