
बुधवार , माघ ९, २०८१
भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि मुद्दाको प्रतिवादका लागि लामिछाने अदालतमा उपस्थित हुन लागेका हुन् ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उनलाई प्रतिवादी बनाइएको छ । मंगलबार बुद्ध एयरलाइन्सबाट भैरहवा आएका लामिछाने अहिले ११ अदालतमा उपस्थीत हुने रास्वपा श्रेतको दावी छ । लामिछाने अदालतमा हाजिर भएपछि उनको बयान हुनेछ र त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।
हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका थिए । कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा उनी थुनामुक्त हुनु भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij