
बुधवार , माघ ९, २०८१
बुटवल, ९ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ नहरपुरस्थित इडन बोर्डिङ स्कूलमा मंगलबारदेखि इडन स्पोर्टस् मिट–२०८१ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटको मंगलबार उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा विद्यालयका अध्यक्ष नकुल शाही ठकुरीले यस्ता खेलकुदका कार्यक्रमले विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटनका साथै विद्यार्थीहरुलाई खेलकुदप्रति रुची बढाउन मद्दत पुग्ने बताए ।
विद्यालयका प्राचार्य तथा कार्यक्रमका अध्यक्ष शिवहरी भट्टराईले विद्यालयले विद्यार्थीहरूको रुची र क्षमता अनुसार विद्यार्थीहरूलाई नै फाइदा हुने खालका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको बताए । उनले विद्यालयले सञ्चालन गर्ने यसप्रकारका खेलकुदसँगै रचनात्मक कार्यक्रमहरूले अन्य विद्यालयहरूसँग प्रतिष्पर्धा गर्न विद्यार्थीहरुलाई पनि रुची जगाएको बताए । जसका कारण विभिन्न संघ–संस्था तथा विद्यालयहरूले सञ्चालन गरेका प्रतियोगिताहरूमा उत्कृष्ट हुने गरेको उनले उल्लेख गरे ।
स्पोर्टस् मिटको हाइड्रोजन बेलुन उडाएर तथा भलिबल खेलको रिबन काटेर उद्घाटन गरिएको थियो । भलिबल, कबड्डी, तेक्वान्दो, एथलेटिक्स तथा विभिन्न मनोरञ्जनात्मक खेलका कार्यक्रम सञ्चालन हुनेछन् ।
माघ १० गतेसम्म कार्यक्रम सञ्चालन हुने विद्यालयका खेलकुद संयोजक तथा अतिरिक्त क्रियाकलाप प्रमुख आरभ श्रेष्ठले बताए । कार्यक्रमको सञ्चालन विद्यालयका उपप्राचार्य कुशल बस्यालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij