२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘आध्यात्मिक शान्ति र सकारात्मक सोचको विकासका लागि सदाचार आवश्यक’

बुधवार , माघ ९, २०८१

बुटवल, ९ माघ । समाजमा विकृति, विसंगति र दुराचारको अन्त्यसँगै सदाचारी भावनाको विकास गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आध्यात्मिक शान्ति र सकारात्मक सोंचको बिकासका लागि सदविचार र सदाचार आवश्यक रहेको भन्दै वक्ताहरुले मानव जगतको कल्याणका लागि आध्यत्मिक चिन्तन उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । 

अलौंकिक ब्रम्हा बाबाको आरोहण तथा विश्व शान्ति दिवसका अवसरमा बुटवल उपमहानगरपालिका–१२ स्थित ढवाहका आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले व्यक्तिगत सदाचार र आहार बिहारमा ध्यान दिनुपर्ने बताएका हुन् । 

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय बुटवलद्वारा पिसपार्कमा आयोजित सो कार्यक्रममा बोल्दै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सहअस्तित्व, सद्भावना, सकारात्मक सोचबाट नै आत्म शुद्धीकरणका साथै शान्ति मिल्ने बताए । ब्रम्हाकुमारी विश्वविद्यालयले बातावरणको संरक्षण तथा महिला सशक्तिकरणका लागि पनि खेलेको भूमिका महत्वपूर्ण रहेको प्रजिअ घिमिरेले उल्लेख गरे ।  

कार्यक्रमका प्रमुख वक्ता ब्रम्हा कुमारीज नेपालका निर्देशक बाल ब्रम्हचारिणी परिणिता दिदीले धर्मले नै मानिसलाई अनुशासनको बाटोमा हिडाउन सक्ने बताए । सदाचार र सदविचारका लागि योग, ध्यान र सात्विक भोजन आवश्यक रहेको कुरामा जोड दिँदै उनले यसबाट मात्रै आध्यात्मिक तथा धार्मिक शान्ति मिल्ने विचार ब्यक्त गरेकी छन् ।  

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय बुटवलका अध्यक्ष तथा सह–निर्देशक कमला दिदीले सत्धर्म, सतविचार र सत् आचारणको पालनाले नै आत्म शुद्धीकरण हुने बताइन् । कलियुगको अन्त्यमा धर्मको रक्षा गर्ने सृष्टिको संंरक्षणका लागि पनि एक तत्वको जन्म हुने विश्वास गरिएको छ । संस्कार परिर्वतनपछि नै समाज परिवर्तन हुन सक्ने कमला उनको भनाइ थियो ।

कार्यक्रममा सञ्चालक ब्रहमाकुमारी ईश्वरीय विश्वद्यिालयका केन्द्रिय सदस्य तथा क्षेत्रीय सचिव नरेन्द्र भाइजी, केन्द्रिय महासचिव ब्रम्हाकुमार शैलेस दाजु, बुटवल उपमहानगरपालिकाका वडा नम्बर ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, ब्रम्हाकुमारी सीमा दिदी, क्षेत्रीय प्रमुख (अध्यक्ष) शान्ति दिदी लगायतले बोल्दै मानव जीवनका लागि आध्यात्मिक शान्तिको महत्वबारे प्रकाश पारेका थिए । 

सो अवसरमा रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष मीना भट्टराई ढकाल, लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य रिना नेपाल लगायतलाई सम्मान गरिएको थियो ।