२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : जेआर क्रिकेट क्लब विजयी

बुधवार , माघ ९, २०८१

भैरहवा, ९ माघ । सन्दीप जोराको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा जेआर क्रिकेट क्लबले प्रोफेसनल माष्टर्स–११ माथि सहज जीत निकालेको छ । जेआरले प्रोफेसनललाई ५ विकेटले पराजित गर्दै जीत हात पारेको हो ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ३७ ओभरमा ३० ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो । उसका लागि ड्रस सुनार र मोहम्मद हुसेनले समान २१, इमरान खानले १७, करण साहनीले १५ र अख्तर हुसेनले १४ रन बनाए । बलिङमा जेआरका आषिश भट्टराई र विनय जिसीले ३–३ तथा कुशल भूर्तेल, सागर गिरी, सन्दीप जोरा र विमल भुसालले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जेआरले २३ ओभर ४ बलमा ५ विकेट गुमाएर १ सय २२ रन बनाउँदै सहज जीत निकाल्यो । उसको जीतमा सन्दीप जोराले अविजित ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै, अनमोल थापाले २०, सुलभ चौधरीले नटआउट १४ र कुशल भूर्तेलले ११ रनको योगदान गरे । बलिङमा प्रोफेसनलका कृष्ण पराजुली र अख्तर हुसेनले २–२ तथा करण साहनीले १ विकेट लिए । खेलमा सन्दीप जोरा प्लेयर अफ द म्याच भइ १ हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले बताए ।