
बुधवार , माघ ९, २०८१
भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँगको बयान सकिएको छ । रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधमा दर्ता भएको मुद्दाको बयान बुधबार भएको हो । आज दिउँसो १ बजेर ५ मिनेटमा सुरु भएको बयान साँझ ५ बजे सकिएको रुपन्देही जिल्ला अदालतका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।
थुनछेक बहस र आदेश आज नभएपछि लामिछानेलाई उनको पत्नी निकित पौडेल र एकजना कानुन व्यवसायीको जिम्मा लगाइएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार बिहीबार (भोली) साढे १० बजे अदालतमा उपस्थित हुने शर्तमा जिम्मा लगाइएको हो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.को रकम ठगी प्रकरणमा गत माघ ६ गते आइतबार अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा लामिछानेलाई प्रतिवादी बनाइएको छ । लामिछानेविरुद्धको मुद्दा जिल्ला न्यायाधिश प्रल्हाद कुमार योगीको इजलासमा परेको थियो ।
जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र जिल्ला सहन्यायधिवक्ता गोकर्ण घिमिरेले बहस गर्ने तयारी थियो । लामिछानेकोतर्फबाट शुशिल पन्त, नारायण कंडेल, गोविन्द मरासिनी लगाएतले बहस गर्ने तयारी थियो ।
हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा रुपन्देही जिल्ला अदालतमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा १ हजार ९ सय ३ जना बचतकर्ता छन् भने १ हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् । लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका थिए । कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा उनी थुनामुक्त भएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij