२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा ५८ हजार जना बढी किशोरीलाई एच.पि.भी. खोप लगाइँदै

बिहिवार , माघ १०, २०८१

भैरहवा, १० माघ । रुपन्देहीमा  ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप लगाइने भएको छ ।

एच.पि.भी. खोप अभियान–२०८१ अन्तर्गत रुपन्देहीमा २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । उनले एकजना पनि किशोरी नछुट्ने गरी खोप अभियान सञ्चालन गरिने दावी गरे । 

जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा विश्व क्यान्सर दिवसका दिन माघ २२ देखि माघ २९ गतेसम्म बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिकामा तथा माघ २२ देखि २७ गतेसम्म सैनामैना नगरपालिका, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकामा रहेका विद्यालयमा खोप केन्द्र निर्माण गरी खोप अभियान सञ्चालन हुनेछ ।

त्यस्तै जिल्लामा दोस्रो चरण अन्तर्गत फागुन १ देखि ६ गतेसम्म देवदह, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक नगरपालिका, ओमसतिया, रोहिणी, सम्मरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान चल्नेछ । पहिलो र दोस्रो चरण गरी १ हजार ४७ खोप केन्द्रबाट किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको यो खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालयबाहिरका १० वर्ष देखि १४ वर्ष उमेरका सबै किशोरीहरुलाई लगाइनेछ । विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) का डा. सागर तिवारीका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पी.भी. भाइरस हो । नेपालमा हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ । जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ । महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको छ । 

भीम अस्पताल भैरहवाकी प्रमुख मेडिकल सुपरीटेण्डेण्ट (मेसु) एच.पि.भी.खोपले एच.पि.भि. भाइरससँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास गर्ने बताइन् । उनले महिलाले वर्षमा कम्तीमा एकपटक पाठेघरको मुखको क्यान्सर जाँच गर्नुपर्ने बताइन् ।

शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले खोपबारे अभिभावकलाई सचेतना प्रदान गर्नुपर्नेमा जोड दिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेको बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईंले एच.पि.भी. खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए ।