
बिहिवार , माघ १०, २०८१
भैरहवा, १० माघ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले एकदिने निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीको सह–आयोजना तथा लुम्बिनी नेत्रालय, भैरहवाको प्राविधिक सहयोगमा बुधबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित श्री बेलहिया माध्यमिक विद्यालयमा शिविर भएको हो ।
विद्यालयको स्वर्ण जयन्ती महोत्सवको अवसरमा शिविर गरिएको क्लबका सचिव गंगाधर भण्डारीले बताए । सचिव भण्डारीका अनुसार शिविरमा विद्यार्थी र अभिभावक गरी २ सय जनाको आँखा परीक्षण गरिएको थियो । यसप्रकारका कार्यक्रमहरूले समुदायमा स्वास्थ्य सेवा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले विद्यालयमा यस्ता कार्यक्रम आयोजना गर्नु महत्वपूर्ण कार्य भएको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका इलेक्ट प्रेसिडेन्ट विष्णु शर्माले विद्यालय र ग्रामीण क्षेत्रहरूमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । लुम्बिनी नेत्रालयका प्रबन्ध निर्देशक डा. हीराबहादुर शाहले समुदायमा आँखा सम्बन्धि समस्याको उपचारका लागि रोटरीसँग हातेमालो गर्ने आश्वासन दिए ।
श्री बेलहिया माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका अध्यक्ष देवराज न्यौपाने र प्रधानाध्यापक बिना भण्डारीले विद्यालयको स्वर्ण जयन्ती महोत्सवका अवसरमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको भन्दै रोटरी क्लब र सहयोग गर्ने लुम्बिनी नेत्रालयलाई धन्यवाद दिए ।कार्यक्रम संयोजक दुर्गा पराजुलीको स्वागत तथा क्लबका सचिव गंगाधर भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष विमल सेन्चुरी, रोटरीयन बासु बडाल, विक्रम मल्ल, राम अर्याल, गोविन्द सिंह, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष इमरान खान लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij