२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा चौपाय छाडा छोड्नेलाई सात हजार जरिवाना

बिहिवार , माघ १०, २०८१

भैरहवा, १० माघ । आफ्ना चौपायहरु जथाभावी छाडा छोड्नेलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ हजार रुपैयाँ जरिवाना गराएको छ । नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ । 

अभियान अन्तरगत हालसम्म ७८ वटा गाईगोरुको व्यवस्थापन गरिएको छ । त्यसमध्ये छाडा चौपाय आफ्नो भनि दावी गर्न आएका दुईजनालाई सात हजार जरिवाना गरेर गाई जिम्मा लगाइएको नगर प्रवक्ता तथा छाडा चौपाय नियन्त्रण अभियानका संयोजक मुक्तिनाथ यादव (भोला)ले बताए । छाडा चौपाय नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलोपटकलाई सात हजार जरिवाना गराई आइन्दा छाडा नछोड्ने शर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो । 

बजारमा छाडा रुपमा हिंडिरहेका चौपायहरुलाई नियन्त्रणमा लिएर अस्थायी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँबाट कपिलवस्तुको बाणंगगा नगरपालिका वडा नम्बर २ मा रहेको गौशालामा लगेर व्यवस्थापन गरिएको उनले बताए । 

छाडा चौपायाले सडकमा सवारीसाधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए । ‘विशेष गरी छाडा गाईगोरुले नगरमा बढी समस्या ल्याएको छ,’ उनले भने, ‘छाडा गाईगोरुका कारण सडक दुर्घटनाको जोखिमको साथै मलमुत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्दै आएका छन् ।’

नियन्त्रणमा लिइएको गाइगोरु कसैले आफ्नो भनी दाबी गर्न आएमा न्यूनतम ७ हजार रुपैयाँ जरिवाना तिराएर दिइने अन्यथा नियन्त्रणमा लिइएका गाईगोरुलाई गौशाला लगिने गरिएको छ । 

सिद्धार्थनगरमा वर्षेनी छाडा गाईगोरुको समस्या विकराल बन्ने गरेको छ । गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउन बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने र केही किसानले दिनभरी बजारका फलफूल, तरकारी, आसपास छाडी रात परेपछि घर लैजाने प्रचलनले नगरमा छाडा गाईगोरुको समस्या वर्षेनी दोहोरिने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । 

नगरप्रमुख खाँले सिद्धार्थनगरमा छाडा गाईगोरु तथा चौपाया नियन्त्रणका लागि लगातार तेस्रो वर्षसम्म अभियान सञ्चालन गरेको बताए ।