
बिहिवार , माघ १०, २०८१
भैरहवा, १० माघ । देव खनालको अलराउण्ड प्रदर्शनमा रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा वेष्टर्न क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लब (एमसीसी) माथि जीत निकालेको छ । वेष्टर्नले एमसीसीलाई ४४ रनले पराजित गरी जीत हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ४२ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ६५ रन बनायो । उसका लागि देव खनालले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, सन्देश थापाले ३६, अभय ढकालले १७ तथा रन्जित खड्का र दीपेश रोकाले समान १० रन जोडे । बलिङमा एमसीसीका विपिन आचार्यले ४, रमेश कुर्मीले ३ र विजय प्रजापतीले २ विकेट हात पारे ।
प्रतिउत्तरमा एमसीसीले ३४ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय २१ रन मात्रै बनायो । उसका लागि विजय प्रजापतिले ३४, सन्दीप रजालीले २६ र इकलाख अहम्मद वारिसले २१ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । बलिङमा वेष्टर्नका देव खनाल, सन्देश थापा र इशान पाण्डेले २–२ तथा अभिषेश गौतम, सुझाव थापा र सागर गैह्रेले १–१ विकेट लिए । खेलमा देव खनाल प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij