
शनिवार , माघ १२, २०८१
भैरहवा, १२ माघ । आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर १, बेलहिया सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको अर्ध–वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य केन्द्रले पछिल्लो ६ महिनामा गरेका कार्य प्रगतिहरुको विषयमा छलफल भएको थियो ।
केन्द्रकी प्रमुख जानुका जि.सी.ले प्रगति विवरणहरु प्रस्तुत गरेकी थिइन् । उनले खोप, परिवार नियोजन, गर्भवती महिलाहरुलाई पोषण वितरण, बालबालिकाहरुलाई लिटो वितरण, सुरक्षित मातृत्व, क्षयरोग, कुष्ठरोग, डेंगी नियन्त्रणलाई प्रभावकारी ढंगले कसरी अगाडि बढाउने भन्ने विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले आधारभूत स्वास्थ्य केन्द्र थप प्रभावकारी रुपमा सञ्चालन गरिएको बताए । उनले भने, ‘आगामी दिनमा वडाभित्र घुम्ती शिविर सञ्चालनमार्फत जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने र आवश्यक औषधिहरु वडा कार्यालयले आफै खरिद गर्नेछ । स्वास्थ्य सेवा केन्द्रले गरेको काम सन्तोषजनक छ । महिला स्वास्थ्य स्वयंमसेविकाहरुले गाउँ र टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ । उहाँहरुप्रति आभार तथा सम्मान व्यक्त गर्दछु ।’
कार्यक्रममा वडाअध्यक्ष उज्जवल पोखरेल, वडा सदस्य मिन बहादुर गुरुङ, हरिमाया गुरुङ, असरफी हरिजन, वडा सचिव जमुना पौडेल लगायतले भनाइ राखेका थिए । कार्यक्रममा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई स्वीटर प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij