
आइतवार , माघ १३, २०८१
भैरहवा, १३ माघ । नेपाल कमर्शियल आर्टिष्ट संघ, जिल्ला कार्यसमिति रूपन्देहीले आफ्नो स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ । ‘संघ हाम्रो लागि, हामी संघको लागि, कलाकारिता नै राष्ट्रको मूल सभ्यता, अनेकतामा एकता यस संघको विशेषता’ नाराका साथ शनिबार भैरहवा फुटसल मैदानमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा नेपाल कमर्शियल आर्टिष्ट संघ रूपन्देही र नवलपरासीका टीमबीच प्रतिष्पर्धा भएको थियो । रोमाञ्चक खेलमा नवलपरासीले ६ गोल गर्दै विजयी भयो भने रूपन्देही ४ गोलका साथ उपविजेता बन्यो । खेलको पहिलो हाफमा नवलपरासीले ५ मिनेटमै ३ गोल गर्दै अग्रता लियो । दोस्रो हाफमा थप २ गोल गर्दै नवलपरासीले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
नवलपरासी टीमका अध्यक्ष राजकुमार रेश्मीले २ गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । सचिव धर्मेन्द्र चौधरीले पनि २ गोल गर्दै नवलपरासीको जीत सुनिश्चित गर्न मुख्य भूमिका खेले । प्रदीप चौधरी र कृष्णा चौधरीले १/१ गोल गर्दै टीमलाई बलियो बनाए । टीमका गोलरक्षक मिनु चौधरीले खेलभर उत्कृष्ट बचाउ प्रदर्शन गर्दै आफ्नो भूमिकालाई प्रभावकारी बनाएका थिए ।
रूपन्देही टीमका तर्फबाट संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमालले १ गोल गर्दै टीमलाई बलियो बनाउने प्रयास गरे । उपाध्यक्ष मनोहर थापाले थप १ गोल गरे भने सचिव बिशन गुरुङ र सदस्य सुग्रिम हरिजनले १/१ गोल गर्दै योगदान दिए । गोलरक्षक शैलेन्द्र सहानीले खेलभर उत्कृष्ट बचाउ गर्दै थप गोल हुनबाट टीमलाई जोगाए ।
कार्यक्रमका प्रमुख अतिथि तथा संघका केन्द्रीय सदस्य रवि घिमिरेले संघको एकता, सहकार्य र सामूहिक ऊर्जा प्रदर्शन गर्ने उद्देश्य सफल भएको बताए । उनले भने, ‘नेपाल कमर्शियल आर्टिष्ट संघ रूपन्देहीको स्थापना दिवसको अवसरमा आयोजना गरिएको यो मैत्रीपूर्ण फुटसल कार्यक्रमले हामीलाई सहकार्य र एकताको भावना प्रगाढ बनाउन प्रेरित गरेको छ ।’
कार्यक्रमका सभाध्यक्ष तथा नेपाल कमर्शियल आर्टिष्ट संघ रूपन्देहीका अध्यक्ष दिनेशमणि कोहारले भने, ‘कार्यक्रमको मुख्य उद्देश्य संघका सदस्यहरूबीच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनु, स्वास्थ्यप्रति सचेतना फैलाउनु र रचनात्मक विचारलाई प्रोत्साहित गर्नु हो । साथै, यस संघको गतिविधिलाई अझ प्रभावकारी र गतिशील बनाउन यस किसिमका क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्छ भन्नेमा विश्वस्त छौं ।’
कार्यक्रमको समापनमा विजेता र उपविजेता टीमलाई ट्रफी तथा मेडल वितरण गरियो । संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमालको स्वागत तथा सचिव बिशन गुरुङको सञ्चालनमा कार्यक्रम सम्प्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij