२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

मानवसेवा आश्रमलाई २१ लाख बराबरको योजना सहयोग गर्ने सिद्धार्थनगरको प्रतिवद्धता

आइतवार , माघ १३, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • तिलोत्तमा, १३ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा सञ्चालित श्रीमद् भागवत सप्ताअ ज्ञानविज्ञान महायज्ञको अवसर पारेर सिद्धार्थनगर नगरपालिकाले मानव सेवा आश्रमलाई २१ लाख रुपैयाँ बराबरको योजना सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    शनिबार नगरप्रमुख इश्तियाक अहमद खाँ र नगर उपप्रमुख उमा अधिकारीले संयुक्त रुपमा सो रकम बराबरको योजना सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले रकम हस्तान्तरण गर्ने उल्लेख गर्दै सहयोगापेक्षी मानवमुक्त सडक घोषणा गर्न मानवसेवा आश्रमले सहयोग गरेको र दिनदुःखीको सेवामा लागेको भन्दै महायज्ञको अवसर पारेर सो रकम दिने प्रतिवद्धता ब्यक्त गरे ।  

    अहिले तिलोत्तमा–६ स्थित मोक्षधाम भएको स्थानमा रहेको आश्रममा देशभरका मानिस आश्रय लिएर बस्दै आएका छन् । उनीहरुको पालनपोषण र लत्ताकपडा, स्वास्थ्य उपचार र व्यवस्थापनसम्मको व्यवस्था सहयोगीबाट जुटाएर आश्रमले गर्दै आएको छ । 

    आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले नगरपालिकाले दिएको प्रतिवद्धतालाई आत्मासात गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरे । सो अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडाअध्यक्षहरुसँगै प्रमुख वाचक कमलनयनाचार्य, हास्य कलाकार मनोज गजुरेल, मानवसेवा आश्रमरुपन्देहीका अध्यक्ष महायज्ञ मूल आयोजक समितिका संयोजक लोकनाथ भुसालको उपस्थिति रहेको थियो ।

    मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) रुपन्देही शाखाको मानवीय स्मारक (भवन) स्तरोन्नति एवं अक्षयकोष अभिवृद्धि गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको मूल आयोजक समिति संयोजक लोकनाथ भुसालले बताए । माघ ७ गते सुरु भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । महायज्ञमा मुख्य कथावाचक भागवत भाष्कर कमल नयन गौतमले कथावाचन गरिरहेका छन् ।