२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : वेष्टर्न क्रिकेट क्लबलाई सफलता

आइतवार , माघ १३, २०८१

भैरहवा, १३ माघ । अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जीत निकालेको हो ।

जीतका लागि पाएको १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१ ओभर ४ बलमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै सहजै भेट्टाउँदै जीत निकाल्यो । उसको जीतमा देव खनालले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, रन्जित खड्काले ३३, मिर्नाल गुरुङले नटआउट २९ र भुवन पाण्डेले १८ रन बनाए । बलिङमा जेआरका विशाल भुसाल र कुशल भूर्तेलले समान १–१ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआरले निर्धारित ४६ ओभरमा ३७ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । उसका लागि सन्दिप जोराले ६६, विशाल भुसालले १९, नविन भुसालले १४, दीलिप नाथले १३ र अनमोल थापाले १२ रन बनाए । बलिङमा वेष्टर्नका अभिषेश गौतमले १० ओभरमा १ मेर्डनसहित २८ रन खर्चेर ६ विकेट लिए । यस्तै, देव खनालले २ तथा सुझाव थापा र इशान पाण्डेले समान १–१ विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाँणले बताए ।