२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेशबाट प्राप्त उपलब्धीलाई नजरअन्दाज गरेर धारणा नबनाऔं : मुख्यमन्त्री आचार्य

आइतवार , माघ १३, २०८१

कपिलवस्तु, १३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुको बारेमा दुईदलीय प्रदेश संयन्त्रको बैठकमा जानकारी गराएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) को दुईदलीय जिल्ला संयन्त्रको प्रदेशस्तरीय संयुक्त बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य प्रदेश सरकारले गरेका कामबाट देखिएका उपलब्धिलाई नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताए।

‘प्रदेश सरकार बन्नुअघि र बनिसकेपछि विकासको अवस्था के थियो ? एकपटक फर्केर हेरौं । अहिले गाउँगाउँमा भइरहेको विकासको काम प्रदेश सरकारले नै गरेको हो’उनले भने,‘प्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ । विकास र समृद्धिको सारथी प्रदेश नै हो ।’

योजना निर्माणदेखि कार्यान्वयन गर्ने प्रवृत्तिलाई लयमा ल्याउने गरी सरकारले भूमिका बढाएको उनको भनाइ छ । ‘अघिल्ला सरकारले टुक्रे योजना धेरै बनाए । बजेटको आकार पनि बढायो । उतिबेलाको गल्तीले अहिले समस्या परेको छ’उनले भने,‘आगामी बजेट ३३ देखि ३४ अर्बको हाराहारीमा ल्याउदा प्रदेशले लय समात्छ ।’ 

त्यस्तै मुख्यमन्त्री आचार्यले चालु आर्थिक वर्षमा सरकारले पुरक बजेट नल्याउने स्पष्ट पारे । चालु आर्थिक वर्षको बजेट सहमतिका आधारमा आएको र चालु आर्थिक वर्षमा सरकारले पुरक बजेट नल्याउने बताए । 
बैठकमा आएका सुझावहरुलाई सरकारले आत्मसाथ गर्दै सरकारको कामलाई गति प्रदान गर्ने गरी भूमिका बढाइरहेको उनले बताए । ‘चालु आर्थिक बर्षको बजेट साझा दस्ताबेज हो । यस वर्ष सरकारले पुरक बजेट ल्याउँदैन । बजेट कार्यान्वयनलाई गति बढाएका छौं’मुख्यमन्त्री आचार्यले भने,‘योजना छनोटमा देखिएका बेथिति रोक्न पाँचलाख भन्दा माथिका योजना प्रतिष्पर्धाबाट कार्यान्वयन गर्न निर्मम निर्णय लिनुपरेको हो ।’ 

टुक्रे योजना बनाउने र उपभोक्ता समितिको नाममा कार्यान्वयन गर्दै व्यक्तिगत लाभ लिने प्रवृत्ति देखिएपछि यसखाले निर्णय लिनुपरेको एमाले केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री आचार्यको भनाइ छ । गत वर्षको दायित्व भुक्तानी गर्ने काम भइरहेको उनले जानकारी दिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको अध्यक्षता तथा नेकपा (एमाले) लुम्बिनी प्रदेशका ईञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा कांग्रेस र एमालेका जिल्ला अध्यक्षहरुले जिल्लागत रिपोर्टिङ गरेका थिए । 

बैठकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी, एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेल, प्रदेश सरकारका अन्य मन्त्री, प्रतिनिधि सभा सदस्यहरु लगायतको सहभागीता थियो ।