२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रवि लामिछानेसँग १ करोड धरौटी माग

आइतवार , माघ १३, २०८१

  • 691
    Shares
  • 691
    Shares
  • भैरहवा, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडिया नेटवर्क प्रा.लि.का पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसमेत विरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको बिहीबारदेखि सरु भएको थुनछेक बहस आइतबार सकिएपछि अदालतले लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

    रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले मुद्दाको प्रतिवादी लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । लामिछाने धरौटी बुझाएपछि रिहा हुनेछन् । आइतबार थुनछेकको जवाफी बहसमा जिल्ला सरकारी वकील कार्यालयको रुपन्देहीकोतर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र जाहेरवालाको तर्फबाट अधिवक्ता रमन कुमार कर्णले गरेका थिए ।

    उनीहरुले जाहेरी दरखास्तहरु, जिसीएस बैंकिङ सफ्टवेयर प्रणाली, सहकारीको डे बुक, आन्तिरक बैंक भौउचर, बैंक स्टमेन्ट लगायत तत्काल प्राप्त प्रमाणहरुको आधारमा प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडी बढाउन आदेशको माग गरेका थिए ।

    त्यस्तै प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्दै सहकारी सञ्चालक समितिमा नै नरहेको र अन्यले अपचलन गरेको रकमको जिम्मा आफ्नो पक्षको नहुने भएको लगायत विषय राख्दै साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्षको आदेशको माग गरेका थिए ।

    गत माघ ६ जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोग पत्रबाट लामिछानेसहित २२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेपछि माघ ९ गते लामिछाने अदालतमा हाजिर भएका थिए । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण छुट्टाछुट्टै मुद्दामा ४२ जनालाई प्रतिवादी बनाइएको छ । यी प्रतिवादीहरुबाट कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ मागदावी गरिएको छ ।

    लामिछाने पोखराको सूर्यदर्शन सहकारी रकम ठगीको अभियोगमा कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर थुनामुक्त हुनुभएको थियो ।