
सोमवार , माघ १४, २०८१
भैरहवा, १४ माघ । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले प्रोफेसनल मास्टर्स–११ माथि सानदार जीत निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा लुम्बिनी खुकुरीले प्रोफेसनललाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदै सानदार जीत हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ३० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८५ रनको बलियो योगफल बनायो । उसको लागि प्रज्वल थापा र शंकर रानाले अर्धशतकीय इनिङ खेले । थापाले ८४ रन बनाउँदा रानाले ७२ रन बनाए । यस्तै, निश्चल चौधरीले ११ रन बनाए । बलिङमा प्रोफेसनलका जयप्रताप यादवले २ तथा कृष्ण पराजुली, अख्तर हुसेन र करण साहनीले १–१ विकेट लिए ।
प्रोफेसनल मास्टर्सले जवाफी ब्याटिङ गर्दै १९ ओभर ५ बलमा ६७ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका अजयकुमार चौहानले ४, सहदेश जिसी र आरिफ खानले २–२ तथा सेहजाद आलम र साहब आलमले १–१ विकेट लिए ।
प्रोफेसनलका इमरान खानले २२, अजय रसाइलीले १३ र तुसार चौहानले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले लज्जास्पद हार व्यहोर्यो । खेलमा प्रज्वल थापा प्लेयर अफ द म्याच भइ १ हजार र्२ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij