
सोमवार , माघ १४, २०८१
भैरहवा, १४ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले आफ्नो आमाबुवाको सम्झनामा महायज्ञमा सहयोग गरेकी छन् । उनले व्यक्तिगत रुपमा महायज्ञमा ५१ हजार रुपैयाँ दान गरेकी हुन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा उपप्रमुख अधिकारीले आफ्नो आमा स्वर्गीय सुमित्रा अधिकारी र बुवा स्वर्गीय दान बहादुर अधिकारीको सम्झनामा सोमबार उक्त रकम प्रदान गरेकी हुन् ।
‘भौतिक रुपमा मेरो आमाबुवा मसँग हुनुहुन्न । तर उहाँहरुको सम्झनामा केही भए पनि गर्न सकुँ भन्ने सोचका साथ महायज्ञमा रकम प्रदान गरेकी हुँ, ’उनले भनिन् । सो अवसरमा सिद्धार्थनगरका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
मानव सेवा आश्रम शाखा कार्यालय रुपन्देहीको आयोजनामा माघ ७ गतेदेखि महायज्ञ सञ्चालन भइरहेको छ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) रुपन्देही शाखाको मानवीय स्मारक (भवन) स्तरोन्नति एवं अक्षयकोष अभिवृद्धि गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको मूल आयोजक समिति संयोजक लोकनाथ भुसालले बताए । महायज्ञमा मुख्य कथावाचक भागवत भाष्कर कमल नयन गौतमले कथावाचन गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij