२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

रूपन्देहीमा १७१ जना कुष्ठरोगका बिरामी

मंगलवार , माघ १५, २०८१

  • 655
    Shares
  • 655
    Shares
  • भैरहवा, १५ माघ । रुपन्देहीमा १ सय ७१ जना कुष्ठरोगका बिरामी छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार गत आर्थिक वर्षमा १ सय ६० जना कुष्ठरोगका बिरामी रहेका थिए । रुपन्देहीमा चालु आर्थिक वर्षको पुस महिनासम्ममा थप ८० जना नयाँ बिरामी फेला परेका थिए । यस अवधिमा १ सय ७१ जना बिरामी उपचाररत रहेको र अन्य निको भएको कार्यालयले जनाएको छ ।

    वि.सं. २०६६ माघमा नेपालमा कुष्ठरोग उन्मुलनको घोषणा गरिएको थियो । उन्मुलनको घोषणा अनुरुपप्रति १० हजार जनसंख्यामा १ प्रतिशत भन्दा कम बिरामी कम संख्या हुनुपर्नेमा रुपन्देही लगायत १८ वटा जिल्लामा यो रोगका बिरामीको संख्या धेरै छ ।

    ७२ औं विश्व कुष्ठरोग दिवसको अवसरमा द लेप्रोसो मिसन नेपालको सहयोग तथा सिद्धार्थनगर नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय, रुपन्देहीले भैरहवामा आयोजना गरेको कुष्ठरोगको रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा कुष्ठरोगको चेकजाँच तथा उपचारमा गरिने वेवास्ताका कारण कुष्ठरोगका नयाँ बिरामी फेला पर्ने गरेको बताइएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले प्रत्येक वर्ष जनवरीको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइँदै आइएको बताए । उनले कुष्ठरोगको समयमै उपचार गरे निको हुने बताए ।  ‘स्नायु प्रणालीमा असर पुर्याइ शरीरका अंगहरु नै अंगभंग गराउने यो रोग समयमै उपचार तथा नियमित औषधि सेवन गरे पूर्ण रुपमा निको हुन्छ, ’अधिकारीले भने’ । 

    रुपन्देहीमा सबैभन्दा धेरै ओमसतिया, गैडहवा, मायादेवी गाउँपालिका, सैनामैना, देवदह र तिलोत्तमा नगरपालिकामा कुष्ठरोगका बिरामी छन् । पछिल्लोपटक शुद्धोधन, मायादेवी, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा धेरै नयाँ बिरामी फेला परेका छन् ।

    कुष्ठरोग चिकित्सक स्वर्णिम ज्ञवालीले प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुष्ठरोग अर्को व्यक्तिबाट सर्ने गरेको बताए । उनले समाजमा अझै पनि कुष्ठरोगका बिरामी खुलेर नआउँदा श्वासप्रश्वासको माध्यमबाट परिवार तथा अर्कोलाई सर्ने क्रम जोखिमका रुपमा बढ्दो भएको बताए । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

    यस वर्ष ‘एकताबद्ध भइ कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौं’ भन्ने मूल नाराका साथ ७२ औं विश्व कुष्ठरोग दिवस मनाइएको छ ।