
मंगलवार , माघ १५, २०८१
बुटवल, १५ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख (मेयर) खेलराज पाण्डेयले बुटवलमा सञ्चारग्राम स्थापना गरेरै छाड्ने जिकिर गरेका छन् । मिडिया हाउसमा काम गर्ने सञ्चारकर्मीहरुको संरक्षणको लागि बुटवलमा मिडिया ग्रामको स्थापना आवश्यकता रहेको बताउँदै उनले यसमा सहयोग गर्नको लागि आग्रह गरेका छन् । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चारग्रामको आवश्यकता रहेकोमा जोड दिए । बुद्ध सामुदायिक टेलिभिजनका वरिष्ठ सल्लाहकार समेत रहेका उनले सञ्चार जगतमा आर्थिक समस्या रहेको अवस्थामा स्थानीय तहले सहयोगी भूमिका खेल्दै आएको बताए ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टेलिभिजन अहिले देशभर प्रसारण भईरहेको जानकारी दिए । उनले सञ्चार र उपकरणमा आधुनिक बनाउँदै लैजानुपर्नेमा जोड दिए । टेलिभिजन देशभर प्रसारण भए पनि लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर समाचार र कार्यक्रम उत्पादन गर्दै आएको उनले बताए । टेलिभिजनले भाषा, संस्कृतिको संरक्षणका लागि विभिन्न भाषाहरुबाट कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । समुदायबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले आवाजबिहीनको आवाज बन्दै गएको उनले उल्लेख गरे ।
टेलिभिजनका कानूनी सल्लाहकार प्राध्यापक डाक्टर बुद्ध बहादुर थापाले सरकारले राज्यको चौथो अंग प्रेस जगत तथा बुद्धिजीविहरुलाई वेवास्ता गर्दै आएको बताए । मिडिया संरक्षण गर्नु तीनै तहका सरकारको दायित्व रहेको बताउँदै उनले मिडिया कमजोर बन्दै जाँदा लोकतन्त्र समेत कमजोर बन्दै गएको बताए ।
टेलिभिजनका पूर्वअध्यक्ष तथा निर्देशन समितिका संयोजक वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षत्रीले संस्था बचाउने दायित्व सञ्चालन सदस्य रहेको बताउँदै समयसापेक्ष लगानी बढाउनुपर्नेमा जोड दिए ।
टेलिभिजनका सल्लाहकार एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलले बुद्ध सामुदायिक टेलिभिजन अझ सक्षम र सबल बन्दै गएको बताए । मिडिया हाउसले पत्रकारहरुको हकहित संरक्षणसँगै क्षमता वृद्धिमा समेत लाग्नुपर्नेमा उनले जोड दिए । निवर्तमान अध्यक्ष एवं निर्देशन समिति सदस्य पृथबहादुर फौदारले टेलिभिजनको स्थायी आम्दानी नहुँदासम्म सहज व्यवस्थापन गर्न नसकिने उल्लेख गरे ।
टेलिभिजनका सल्लाहकार रीता सेन वलीले टेलिभिजनको जग्गा खरिद गरिएको भए पनि उपयोग गर्न नसकेको भन्दै प्रयोगमा ल्याउनुपर्नेमा जोड दिइन् । टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले टेलिभिजनको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै टेलिभिजनका विभिन्न शाखाहरु लैंगिकमैत्री बनाइएको बताए । टेलिभिजनले उत्पादन हुने समाचार तथा कार्यक्रमहरु समुदायमा नै आधारित रहेको उनले बताए ।
साधारण सभामा कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत, सचिव जे.बी. गुरुङको सञ्चालन तथा सञ्चालक डोलराज बस्यालको ध्यन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
साधारण सभामा अध्यक्ष ज्ञवालीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको सचिव जे.बी. गुरुङले जानकारी दिए । साधारण सभाकै अवसरमा बजार प्रतिनिधि बसन्ती कार्कीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान समेत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij