२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

विद्यालय भवन निर्माणमा कमसल सामग्री प्रयोग गरिएको भन्दै स्थानीयद्वारा विरोध

मंगलवार , माघ १५, २०८१

  • 646
    Shares
  • 646
    Shares
  • भैरहवा, १५ माघ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ स्थित श्री मर्यादपुर माध्यमिक विद्यालयमा निर्माण भइरहेको भवनमा कमशल सामग्री प्रयोग गरिएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् । लुम्बिनी प्रदेश सरकारद्वारा विनियोजित बजेटमा निर्माण भइरहेको चारकोठे विज्ञान भवनमा कमल सामग्री प्रयोग गरिएको भन्दै स्थानीयले विरोध गर्नुका साथै निर्माण कार्य बन्द गराएका छन् ।

    स्थानीय समाजसेवी गुरुवचन यादवले निर्माणमा प्रयोग गरिएको बालुवा र ईट्टा कमसल हुनुको साथै सिमेन्टको मात्रा समेत कम रहेको बताए । उनले भने–‘भवन निर्माण कार्यको अनुमगन नहुँदा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको छ । स्थानीय, अभिभावकसहित निर्माणस्थलमा जाँदा कमशल सामाग्री प्रयोग गरेको पाइयो’उनले भने–भवनमा विद्यार्थीहरु अध्ययन गर्ने हो कमसल सामाग्री प्रयोग गरी बनाएको संरचनामा अध्ययन गर्दा विद्यार्थी तथा शिक्षकहरु जोखिममा हुन्छन् । जबसम्म यहाँ गुणस्तरीय सामग्रीको प्रयोग हुँदैन तबसम्म निर्माण कार्य हुन दिन्नौं ।’

    निर्माणस्थलमा आयोजनाबारे कुनै सूचना पाटी समेत राखिएको छैन । निर्माण कम्पनीले गरेको कमीकमजोरी सच्याएर निर्माण कार्य, निर्माण कम्पनी, निर्माण लागत र बजेट बिनियोजन गर्ने निकायसहितको जानकारी दिने बोर्ड राख्न समाजसेवी यादवको आग्रह छ ।

    सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका इञ्जिनियर हरि बिष्टले कमसल सामग्री प्रयोग भएको जानकारीपछि निर्माण कार्य बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । ‘कमसल सामाग्रीबारे प्राविधिक टोलीसँग ल्याब जाँचको लागि काम सुरु भएको छ’उनले भने–‘ल्याब र नाँपजाँचको रिपोर्ट नआउञ्जेल काम बन्द राख्ने निर्देशन दिएका छौं ।’

    भवन निर्माणको लागि ठेक्का लिएको रोयल एसके निर्माण सेवा गैडहवा–७ का सञ्चालक फागू कुर्मीले स्टीमेट अनुसारकै सामग्री प्रयोग गरको दावी गरे । ‘६/१ को मसाला बनाउने स्टीमेट भएको छ, सोहीअनुसार काम गरेका छौँ । अधिक शीतलहरले गर्दा एक दिन अगाडि बनेको दिवाल नसुकेर मात्रै ढलेको हो’ उनले भने–‘बालुवा अलिकति मसिनो हुन गएको छ त्यो म सुधार्नेछु बाँकी कुनै कार्यमा कमशल सामग्री प्रयोग गरिएको छैन ।’ भवन निर्माण स्थलमा सूचना बोर्ड तत्काल राख्ने कुर्मीले बताए ।